आजबाट ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु हुँदै
काठमाडौं । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको आज पुस २५ गते सोमबारबाट एकीकृत कारोबार सुरु हुँदैछ । दुवै बैंक १ः१ अर्थात बराबरी हैसियतमा मर्जरमा गएर आजदेखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस १७ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस १९ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै एक भएपछि अब ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।
यस्तै, मंसिर २३ गते सम्पन्न साधारण सभाले पनि दुवै बैंकलाई एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका लागि गत असार २ गते प्रारम्भिक सहमतिमा तथा कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो ।
हाल ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ भने बीओकेको १० अर्ब ६२ करोड रुपैयाँ छ । एकीकृत कारोबारपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।