सीसीका आधारमा गाडीमा अन्तशुल्क बढ्यो |
काठमाडौं । सरकारले एक हजार सीसी भन्दा माथिका चार पाङ्ग्रे सवारी साधन र १ सय ५० सीसी भन्दा माथिका मोटरसाइकलहरुमा अन्तःशुल्क वृद्घि गरेको छ । बजेटमार्फत महँगा गाडी र बाइकको अन्तशुल्क ४० प्रतिशतसम्म बढेको छ । यसअघि सबै गाडीमा अन्तशुल्क ६० प्रतिशत लाग्दै आएको थियो । लक्जरी गाडी र बाइकको अन्तशुल्क सय प्रतिशतसम्म पुगेको छ ।
हजार सीसीदेखि १५ सय सीसीसम्मको गाडीमा ६५ प्रतिशत अन्तशुल्क तिर्नुपर्ने भएको छ । यसमा पाँच प्रतिशत बिन्दुले अन्तशुल्क बढेको हो । बजेटले १५ सय सीसीदेखि २ हजारसम्मको गाडीमा ७० प्रतिशत अन्तशुल्क पुर्याइएको छ । यो भनेको १० प्रतिशत बिन्दुले कर बृद्धि हो । बजेटले दुई हजारदेखि २५ सयसम्ममा ८० प्रतिशत पुर्याइएको छ । बजेटमा २५ सयदेखि ३ हजार सीसीसम्मको गाडीमा ९० प्रतिशत अन्तशुल्क पुर्याइएको छ । बजेटमा ३ हजारदेखि माथि गाडीलाई सय प्रतिशत अन्तशुल्क पुर्याइएको छ ।
मूल्य बढने
हजार सीसीभन्दा बढीका गाडीको मूल्य बढने भएको छ । तर तत्कालै मूल्य कति बढ्छ भनेर भन्न सकिने अवस्था नरहेको नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनका निर्वतमान अध्यक्ष अन्जन श्रेष्ठले बताए । गाडीको कारोबार अहिले मन्दीको अवस्थामा छ । त्यसैले अन्तशुल्क बढ्दा थप व्यापार संकटमा पर्ने व्यवसायीहरुको भनाई छ । गाडीमा अन्तशुल्क बढाउने निर्णयले राजस्वमा अपेक्षित लाभ प्राप्त नहुने नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालको भनाई छ ।