बेइजिङ् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चीनको आर्थिक वृद्धिदर सन् २०२५ मा अनुमानित रुपमा चार प्रतिशतमा सीमित हुने बताएको छ । यो दर चीन सरकारद्वारा तय गरिएको करिब ५ प्रतिशतको लक्ष्यभन्दा केही कम हो ।
चीन र संयुक्त राज्य अमेरिका बीच चलिरहेको व्यापारिक विवादका कारण दुबै देशले एकअर्काका वस्तुहरुमा उच्च कर लगाएका छन्, त्यसले चीनको निर्यातमा असर पुर्याएको छ ।
साथै, चीनको घरजग्गा क्षेत्रमा रहेको समस्या, स्थानीय सरकारको ऋण बोझ र उपभोक्ताहरुको खर्च गर्ने इच्छाशक्तिमा आएको कमीले पनि आर्थिक वृद्धिमा दबाब परेको छ ।
आइएमएफले जनवरीमा चीनको वृद्धिदर ४.६ प्रतिशत हुने अनुमान गरेको थियो, तर अहिलेको परिस्थितिलाई ध्यानमा राख्दै त्यो दर घटाएर ४ प्रतिशतमा ल्याइएको हो ।
रिपोर्टमा उल्लेख गरिएअनुसार, चिनियाँ नागरिकहरुको उपभोग गर्ने व्यवहारमा सन् २०२२ देखि आएको गिरावट अझै सुधार भएको छैन । यसले समग्र अर्थतन्त्रमा प्रभाव पारिरहेको छ ।
आगामी वर्षको लागि पनि आइएमएफले वृद्धिदर ४ प्रतिशत हुने प्रक्षेपण गरेको छ, जुन अघिल्लो अनुमानभन्दा केही कम हो ।
आइएमएफले भनेको छ, “घरजग्गा क्षेत्रको लामो समयदेखि चल्दै आएको समस्या र त्यसको प्रभाव, विशेष गरी स्थानीय सरकारहरुको वित्तीय अवस्था कमजोर बनाएको छ ।”
यसका साथै, राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकाले हालै सुरु गरेको व्यापारिक कदमले पनि चीनमा थप दबाब बढाएको उल्लेख गरिएको छ । एएफपी