९ महिनामा ५८ अर्ब एफडीआई स्वीकृत

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृतिमा उच्च वृद्धि देखिएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) अवधिमा ५८ अर्ब हाराहारी एफडीआई स्वीकृत भएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा २७ अर्ब ८८ करोडले धेरै हो ।
यस वर्ष चैत मसान्तसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार ५ सय रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ । अघिल्लो वर्ष चैत मसान्तसम्म ३० अर्ब ९ करोड ९५ लाख १७ हजार रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको उद्योग विभागको तथ्यांक छ ।
विभागका अनुसार चैत मसान्तसम्म ‘अप्रुभल रुट’ बाट ५५ अर्ब ७ करोड रुपैयाँ र ‘अटोमेटिक रुट’ बाट २ अर्ब ८९ करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ ।
चैत २०८१ मा मात्र १३ अर्ब १७ करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ । गत वर्ष चैतमा ९६ करोड रुपैयाँ बराबर मात्र एफडीआई स्वीकृत भएको विभागको तथ्यांक छ ।
तथ्यांक अनुसार यस वर्ष ९ महिनामा कुल ४ सय ८० उद्योग दर्ता भएका छन् । तीमध्ये चैतमा मात्र ५३ उद्योग दर्ता भएको देखिएको छ । तीमध्ये अटोमेटिक रुटबाट २ सय २४ उद्योग दर्ता भएको आँकडा छ । यस वर्ष फागुन र चैतमा अधिक एफडीआई भित्रिएको तथ्यांक छ ।