तारालाई नेपाल महिला ओपन गल्फ प्रतियोगिताको उपाधि

काठमाडौ । तारा कार्की चित्रकारले नेपाल महिला ओपन गल्फ प्रतियोगिताको उपाधि जितेकी छिन्।
रोयल नेपाल गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा ताराले ३७ अंक प्राप्त गर्दै उपाधि जितेकी हुन्। उपाधिसँगै राष्ट्रिय टिमकी खेलाडी ताराले इलेक्ट्रिक स्कूटर र आर्शिया कोउटुरबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन्।
राष्ट्रिय टिमकी अर्की खेलाडी सम्झना खत्री ३६ अंकसहित दोस्रो भईन्। सम्झनाले पनि ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गरिन्। उनले तीन बर्डी प्रहार गर्दै मोस्ट बर्डिजको उपाधि पनि हात पारिन्।
अभानी राईले यु-१९ तर्फको उपाधि जितिन्। उनले ३४ अंक जोडिन्। सन्ध्या राईले २६ अंकका साथ सिनियरतर्फको उपाधि हात पारिन्। यस्तै सुपर सिनियरमा कल्याणी मोक्तान सफल रहिन्। उनले १३ अंक जोडिन्।
प्रतियोगितामा पार्वती सुवेदीले बेस्ट फ्रन्ट नाइन र अञ्जली योञ्जनले बेस्ट ब्याक नाइनको उपाधि जिते। पार्वतीले १८ र अञ्जलीले १९ अंक जोडेका थिए।
प्रतियोगितामा जुनी गुरुङले लङ्गेस्ट ड्राइभ, बलकाशी गुरुङले क्लोजेस्ट टु द पिन, अञ्जलिका सिन्हाले स्ट्रेट ड्राइभ, रिजु राईले बेस्ट स्पोर्ट्सम्यानसिप र न्यायाधीश सपना प्रधान मल्लले लक्की ड्र को पुरस्कार प्राप्त गरे।
यसैबीच शीर्ष १० खेलाडीहरूले आइतबार हुने दोस्रो तथा अन्तिम राउण्डमा प्रतिस्पर्धा गर्नेछन्। तारा कार्की चित्रकार, सम्झना खत्री, अञ्जली योञ्जन, अभानी राई, पार्वती सुवेदी, रानु बानियाँ, सुषमा सिंह, सुमित्रा लिम्बु, सन्ध्या राई र देवी पुलामी मगर लागि छनौट भएका हुन्।
विजेताहरूलाई अभिनेत्री मनिषा कोइराला, न्यायाधीश सपना प्रधान मल्ल, आरएनजिसीका अध्यक्ष मधुकर याक्थुम्बा, क्याप्टेन मिथुन राई, लेडी क्याप्टेन तथा प्रमुख आयोजक अर्शिया बानु, र नेपाल गल्फ संघका अध्यक्ष टासी घले लगायतले पुरस्कार प्रदान गरे।
प्रतियोगिताको मुख्य प्रायोजक अर्शिया बुटिक रहेको छ भने लामी होल्डिङ्स, सिटी एक्सप्रेस, ह्वाइट हाउस रिसोर्ट, इन्द्र ट्राभल्स एण्ड टुर्स, स्किल ३६०, विमेन्स प्लानेट, भास्कर तेजश्री मेमोरियल फाउन्डेसन, होटल कृष्ण, रिगल होटल, एयर डाइनेस्टी हेलि सर्भिस, लामा एक्सकर्सन्स र श्री बालाजी डायमण्ड प्रतियोगिताका सहयोगी संस्था हुन्। प्रतियोगितालाई नेपाल गल्फ संघले पनि सहयोग रहेको छ।