बाढी, पहिरो क्षतिउपर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ६० करोड ३२ लाख दाबी भुक्तानी

काठमाडौं । बाढी पहिरोको क्षति उपर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ६० करोड बढी दावी भुक्तानी दिएको छ ।
गत असोजमा अविरल वर्षका कारण देशभर ठुलो धनजनको क्षति भएको थियो । बाढी, पहिरोबाट घर, गाडी, पसल लगायतका पूर्वाधार निर्माणका आयोजनाहरुमा क्षति पुगेको थियो ।
क्षति उपर कम्पनीमा २ अर्ब ८९ करोड ९६ लाख ३९ हजार रुपैयाँ बराबरको दावी पेश भएको छ । सिद्धार्थ प्रिमियरमा हालसम्म ५८२ वटा दावी पेश भएको हो । त्यसमध्ये कम्पनीले ६० करोड ३२ लाख ३९ हजार रुपैयाँ भुक्तानी दिएको छ । कम्पनीका अनुसार २९ करोड ९७ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिएको थियो ।
कम्पनीमा सबैभन्दा धेरै सम्पत्ति बीमामा दावी परेको छ । हालसम्म सम्पत्ति बीमा अन्तर्गत २ अर्ब २७ करोड २१ लाख ४० हजार रुपैयाँ बराबरको दावी पेश भएको छ । त्यसमा कम्पनीले ४० करोड ९३ लाख ६१ हजार रुपैयाँ भुक्तानी दिएको छ । तर, अझै १ अर्ब ५५ करोड ९० लाख रुपैयाँ भुक्तानी हुन बाँकी देखिन्छ ।
यस्तै, मोटर बीमा अन्तर्ग पनि कम्पनीले ५ करोड २१ लाख रुपैयाँ भुक्तानी दिएको छ । जबकि, क्षति उपर ८ करोड ६० हजार रुपैयाँ बराबरको १९५ वटा दावी पेश भएका थिए ।
कम्पनीमा इन्जिनियरिङ्ग तथा ठेक्का बीमा अन्तर्गत ३७ करोड ८२ लाख रुपैयाँ बराबरका २५ वटा दावी पेश भएका छन् । हालसम्म यसमा ६ करोड ८८ लाख ५३ हजार रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ । तर, २७ करोड ६७ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।
सामुन्द्रि बीमामा पनि ३० लाख रुपैयाँ बराबरको दावी पेश भएको देखिन्छ । कुल दावीमा कम्पनीले ५ लाख १ हजार रुपैयाँ मात्रै भुक्तानी दिएको छ ।