महिला खुला गल्फ प्रतियोगिता शनिवार

काठमाडौं । दोस्रो संस्करणको महिला गल्फ प्रतियोगिता भोलि रोयल नेपाल गल्फ क्लबमा हुँदैछ।
स्टेबलफोर्ड फर्म्याटमा हुने प्रतियोगिता कुल ६२ महिला गल्फ खेलाडीहरूले भाग लिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। प्रतियोगितामा खेलाडीहरूले कुल स्पर्धा महिला ओपन, सिनियर, सुपर सिनियर र यु-१९ प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको महिला ओपनतर्फको विजेताले इलेक्ट्रिक स्कूटर तथा अर्शिया बुटिकको तर्फबाट गिफ्ट भौचर प्रदान गरिनेछ। अन्य विधाका विजेता तथा उपविजेताहरूलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने बताइएको छ। अन्य पुरस्कारहरूमा क्लोजेस्ट-टु-द-पिन, लङ्गेस्ट ड्राइभ, मोस्ट बर्डीज, स्ट्रेटेस्ट ड्राइभ, बेस्ट फ्रन्ट नाइन, बेस्ट ब्याक नाइन, बेस्ट स्पोर्ट्सम्यानसिप, र लक्की विनर पनि रहेका छन्।
मुख्य आयोजक तथा आरएनजीसीकी लेडी क्याप्टेन अर्शिया बानुले “देशभरबाट महिला खेलाडीहरूको सहभागिता हुनु हाम्रो लागि गर्वको विषय हो,” भनिन्।
सह–आयोजक तथा पूर्व राष्ट्रिय महिला गल्फर प्रतिमा शेर्पाले प्रतियोगिता निरन्तरता दिन पाउँदा खुशी लागेको बताइन्। “यो खुला प्रतियोगिता हो र ८६ वर्षीया डा. रिता थापा जस्तो प्रेरणादायी व्यक्तित्वको सहभागिता हुनु हाम्रो लागि गर्वको कुरा हो,” शेर्पाले भनिन्।
अर्की सह–आयोजक सरीताश्री ज्ञवालीले यो कार्यक्रम महिलाद्वारा, महिलाका लागि, महिलालाई लक्षित गरी आयोजना गरिएको बताइन्। “हामी सहभागीहरूको उत्साहजनक उपस्थितिले निकै उत्साहित छौं र मुख्य अतिथि को रूपमा प्रसिद्ध अभिनेत्री मनीषा कोइरालालाई निम्त्याएका छौं,” ज्ञवालीले बयाइन्।
पहिलो दिनको प्रतिस्पर्धापछि उत्कृष्ट १० खेलाडीहरूले १८ होलको दोस्रो तथा अन्तिम राउन्ड खेल्नेछन्। “हामीसँग विश्व वरीयतामा नेपाली खेलाडीहरू नभएकोले उत्कृष्ट १० खेलाडीहरूलाई वरीयतामा प्रवेश गराउने योजना अनुरुप दोस्तों दिनको प्रतिस्पर्धा गराइन लागिएको हो,” शेर्पाले भनिन्।
प्रतियोगिताको मुख्य प्रायोजक अर्शिया बुटिक रहेको छ भने लामी होल्डिङ्स, सिटी एक्सप्रेस, ह्वाइट हाउस रिसोर्ट, इन्द्र ट्राभल्स एण्ड टुर्स, स्किल ३६०, विमेन्स प्लानेट, भास्कर तेजश्री मेमोरियल फाउन्डेसन, होटल कृष्ण, रिगल होटल, एयर डाइनेस्टी हेलि सर्भिस, लामा एक्सकर्सन्स र श्री बालाजी डायमण्ड यस प्रतियोगिताका सहयोगी संस्था हुन्।
प्रतियोगितालाई नेपाल गल्फ संघले पनि सहयोग गरेको छ।