एनआइसी एसिया बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआइसी एसिया बैंकको ऋणपत्रमा आवेदन दिने आज बिहीबार (चैत २८ गते) अन्तिम दिन हो । व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) बाट मागभन्दा बढी आवेदन परेपछि बिहीबार बिक्री बन्द गर्न लागिएको हो । बिहीबार कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । बैंकले चैत २५ गते प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई बिक्री खुला गर्न गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात २० लाख इकाई सर्वसाधारणलाई र ६० प्रतिशत अर्थात ३० लाख इकाई प्राइभेट प्लेसमेन्टका लागि छुट्याइएको छ ।
सर्वसाधारणलाई जारी हुने इकाईबाट ५ प्रतिशत अर्थात १ लाख इकाई भने म्युचुअल फन्डलाई छुट्याइएको बैंकले जानकारी गराएको छ । बैंकले १० वर्ष अवधि भएको ‘७५ एआइसी एसिया डिबेन्चर २०९१’ निष्काशन गरेको हो । यसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान हुने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयहरु र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसमा प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले एनआइसी एसियालाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउने आइआरएन इस्यूअर रेटिङ ट्रिपल बी प्लस प्रदान गरेको छ ।