बल्खुमा राप्रपाको आमसभा, ट्राफिक व्यवस्थापनमा कडाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मंगलबार) बल्खुमा आमसभा गर्दैछ । बल्खु चोकमा हुने आमसभामालाई अध्यक्ष राजेन्द्र लिङदेन लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।
बिहान साढे ११ बजेबाट हुने आमसभामा सहभागिताका लागि राप्रपाले सबैलाई आह्वान गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए । बागमती प्रदेशस्तरीय बृहत् प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठका लागि राप्रपाले आफ्नो संयन्त्र र स्वयंसेवक परिचालन गर्ने जनाएको छ ।
राजसंस्था पुनर्स्थापना र हिन्दूराज्यका पक्षमा राप्रपाले प्रदर्शन गर्दै आएको छ । यसअघि दुर्गा प्रसाईंले नेतृत्व गरेको तीनकुनेको राजवादी समर्थकको प्रदर्शन हिंसात्मक बनेपछि राप्रपाले आफ्नै नेतृत्वमा अभियान अगाडि बढाउने निर्णय गरेको हो ।
यो संगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थामा कडाई पारिएको छ । ट्राफिक महाशाखाले सूचना जारी गर्दै आज प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानबारे जानकारी गराएको छ । जसमा खसिबजार–मकालु–कलङ्की चोक–बाफल, बल्खु चोक–कुलेश्वर–कालीमाटी चोक–टेकु क्षेत्र रहेका छन् ।
यस्तै कीर्तिपुर–सुन्दरीघाट–सानेपा–एकान्तकुनाबाट समेत डाइभर्सन हुनेछन् । यस्तै प्रहरीले आवश्यक परेको अवस्थामा अन्य क्षेत्रमा पनि सवारी डाइभर्सन हुने जनाएको छ । ट्राफिक जाम हुने क्षेत्रहरुमा वैकल्पिक बाटोहरु अपनाउन पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ ।