स्थानीय निकायमा खरिद प्रक्रिया थाहा नहुँदा समस्या : मुख्यमन्त्री

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीलाई सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी जानकारी नहुँदा भएको समस्या समाधान गर्नका लागि प्रदेशले यस्ता कार्यक्रमको आयोजना सबै स्थानीय तहमा गर्नुपर्ने बताउनुभएको छ । उहाँले यस्ता कार्यक्रमका कारण स्थानीय तहमा बेरुजु नहुने र सुशासन आउने तथा यस्ता कार्यक्रमले गर्दा खरिद प्रक्रियामा चुस्त दुरुस्तता आउनेमा आफू विश्वस्त भएको मुख्यमन्त्री लामाले बताउनुभएको थियो । उहाँले यस्ता कार्यक्रम सञ्चालन गर्ने तथा जानकारी दिने दक्ष जनशक्ति तथा प्रशिक्षक उत्पादन तथा प्रशिक्षण कार्यक्रमलाई प्रदेशले निरन्तरता दिने समेत बताउनुभयो ।
यस्तै कार्यक्रममा उहाँले कर्मचारीको पिआएस थाहा नहुँदा भएको समस्या समाधान गर्नको लागि प्रदेश सरकार लागि परेको छ, सफ्टवेयर डेभलप गरेर कुन स्थानीय निकायमा को को कर्मचारी छन् हाजिरी कस्तो छ देखि सरुवा तथा बढुवाका लागि के गर्न सकिन्छ भन्ने विषयमा पनि यसबाट सहज हुने उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले स्थानीय सरकारले जनताको प्रत्यक्ष आवाज सुन्नु पर्ने हुँदा एक आर्थिक वर्ष भित्र एकै प्रकारका वस्तु तथा सेवा खरिद र निर्माण धेरै पटक गर्दा यस्ता खरिदलाई ऐनले टुक्रे खरिद भनी अनियमित भन्दै महालेखाले बेरुजु देखाउँदा स्थानीय तहमा बेरुजुको अङ्क बढ्दो भएको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, प्रदेश सचिव रितेश कुमार शाक्य लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा रसुवाका ५ पालिका , नुवाकोटका १२ पालिका, भक्तपुरका ४ पालिका र ललितपुरका ३ गाउँपालिका गरी २३ पालिकाका जनप्रतिनिधि( प्रमुख वा अध्यक्ष) तथा आर्थिक प्रशासन शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।