नेपाल सुपर लिगमा आज बुटवल लुम्बिनी र झापा एफसी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को दोस्रो खेलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच खेल हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
शनिबार सुरु भएको एनएसएलको तेस्रो संस्करणमा ७ टोली सहभागी छन् । लिग चरणमा ६ खेल मात्र हुने भएकोले दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।
एनएसएलमा गत संस्करण डेब्यु गरेको झापाले बुटवल लुम्बिनीलाई १-० ले हराएको थियो ।
बुटवल लुम्बिनीको कप्तानी मिडफिल्डर एरिक विष्टले गर्नेछन् । राष्ट्रिय टिमका अर्का मिडफिल्डर मनिष डाँगी बुटवलको मार्की प्लेअरमा छन् । उता राष्ट्रिय टिमकै मिडफिल्डर लकेन लिम्बु झापाको मार्की प्लेअर र कप्तानमा छन् । यस पटक लकेन सामु धेरै जिम्मेवारी छ ।
उता झापा एफसीमा लकेनसँगै राष्ट्रिय टिमबाट खेल्ने डिफेण्डर छिरिङ लामा पनि छन् । झापाले यस पटक छिरिङलाई मात्र रिटेन गरेको थियो । यस्तै झापाले अक्सनमा लिएर गोलकिपर एन्जल श्रेष्ठ भर्खरै राष्ट्रिय टिममा परेका छन् । उनले डेब्यु गर्न बाँकी छ । गत वर्ष एन्जलले काठमाडौं रेजर्सबाट एनएसएल खेलेको थियो ।
यस बाहेक राष्ट्रिय टिमको अनुभव भएका डिफेण्डर आशिष गुरुङ पनि झापामा छन् । झापाबाटै खेलेका उज्वल राई पनि यस पटक झापामा छन् ।