बिचौलियाले राजेन्द्र क्षेत्रीलाई बोकेपछि गभर्नर नियुक्ति खेलमा गोलमाल

काठमाडौं । नेपाल राष्ट्रबैंकको नयाँ गभर्नर नियुक्तिको दिन नजिकिँदै गर्दा नयाँ ट्वीस्ट र खेलहरु हुन थालेका छन् । पछिल्लो समय सरकारले गर्ने प्रमुख नियुक्तिहरुमा बिचौलियाको बोलवाला चलिरहेको बेला गभर्नरमा समेत नियुक्तिको मिति नजिकिँदै गर्दा बिचौलियाहरु हाबी हुन थालेका हुन् ।
नेपाल राष्ट्रबैंकको गभर्नरमा योग्य र उपयुक्त पात्रहरुलाई पछि पार्ने गरी बिचौलिया समूहले पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको नाम लिएर चलखेल सुरु गरेको हो । यसले गभर्नर नियुक्तिको खेलमा नयाँ मोड ल्याउनसक्ने देखिएको छ ।
देशमै चिनिएको बिचौलिया दीपक भट्ट समूहले केही व्यवसायिक घराना र प्रतिष्ठानको सहयोग लिएर अहिले राजेन्द्रकिशोर क्षेत्रीलाई गभर्नर बनाउनुपर्ने भन्दै ठूलो सहयोग रकम संकलन गरिरहेको एक औद्योगिक घरानाका प्रतिनिधिले जानकारी दिएका छन् ।
‘दीपक जीहरुले राजेन्द्र क्षेत्रीलाई गभर्नर बनाउनुपर्ने भयो र त्यसका लागि विभिन्न शक्तिकेन्द्रहरुलाई रिझाउन भन्दै हामीसँग पनि सहयोग माग्नुभएको थियो । हामीअनुकुल मान्छे गभर्नरको रुपमा आउने हो भने ठीकै हो भनेर हामीले पनि सहयोग गरेका छौं ।’ ती उद्योगीले भने–‘धितोपत्र बोर्ड, बीमा प्राधिकरणजस्तै नेपाल राष्ट्रबैंकको गभर्नरमा समेत उहाँहरु नै हाबी हुने अवस्था देख्दैछु म । हामीलाई त काम गर्न सहज मान्छे भयो भइगो नि ।’
अन्य व्यापारिक घरानाहरुमा समेत दीपक भट्ट समूहले रकम उठाइरहेको छ । ‘राजनीतिक दलका नेताहरुलाई ५० करोड रुपैयाँ नदिई हामीअनुकूल गभर्नर नआउने भए’ भन्दै धमाधम रकम उठाइएको स्रोतहरुले बताएका छन् ।
बिचौलिया समूहले विभिन्न व्यापारिक तथा औद्योगिक घरानालाई समातेर सहयोग नै उठाउन थालेपछि गभर्नर नियुक्तिको खेलले नयाँ मोड लिनसक्ने सम्भावना बढेको छ ।
गभर्नर बन्ने दौडमा राष्ट्रबैंकका दुई डेपुटी गभर्नर, दुई कार्यकारी निर्देशक, वाणिज्य बैंकका तीन सीईओ पनि रहेका छन् ।
नेपाल सरकारको आर्थिक सल्लाहकारको भूमिकामा रहेको राष्ट्रबैंकलाई हाँक्ने गभर्नरको रुपमा बिचौलियाले कब्जा गरेको अवस्थामा देशको अर्थतन्त्र थप डामाडोल हुने त्रास उत्पन्न भएको छ । बिचौलियाहरुले आफूले पैसा उठाएर खर्च गरेर ल्याएको गभर्नरले उनीहरुअनुकूल नीति ल्याउँछ, सोहीअनुसार काम गर्छ । जसले गर्दा मुलुकको अर्थतन्त्रमा नराम्ररी गम्भीर धक्का पर्नसक्ने सम्भावना बढेको छ ।
को हुन् बिचौलियाले बोकेका क्षेत्री ?
राजेन्द्र किशोर क्षेत्री छोटो समयकै लागि भए पनि नेपाल सरकारको मुख्य सचिव भइसकेका पूर्व प्रशासक हुन् । ५८ वर्षे उमेर हदका कारण २०७४ असार २९ गते मुख्यसचिव बनेका उनी २०७४ साल कात्तिक ६ गते अवकाश भएका थिए ।
उनी परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु देउवा निकट पनि मानिन्छन् । मुख्यसचिवबाट अवकास भएपछि उनी केही व्यापारिक घरानामा परामर्शदाताको रुपमा काम गर्दै आएका छन् ।
पछिल्लो समय केन्द्रीय बैंकको गभर्नरजस्तो पदमा अर्थसचिव पनि नभएको पूर्व प्रशासकलाई ल्याउन नहुनेमा तीव्र दवाब सिर्जना भइसकेको थियो । चौतर्फी विरोधका कारण उनको गभर्नरसम्मको यात्रा असहज बनिरहेकै बेला बिचौलिया र पैसाको प्रवेशले नयाँ ट्वीस्ट आउने सम्भावना बढेको हो ।
बिचौलियाले बोकेका क्षेत्री अर्थशास्त्र, नेपालको ऊर्जा तथा जलस्रोत, राष्ट्रिय तथा अन्यर्राष्ट्रिय कानुन, कर, बिमा र भौतिक पूर्वाधारका क्षेत्रका जानकार हुन् । उनले सहकारी, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, ऊर्जा मन्त्रालयको सचिवका रूपमा काम गरेका छन् ।
को को छन् गभर्नरका दावेदार
ज्ञानेन्द्र ढुंगाना
नबिल वैंकको सिईओबाट राजिनामा दिएपछि घोषितरुपमा गभर्नरको दौडमा लागेका ढुंगानालाई ‘कर्पोरेट उम्मेद्वार’ मानिन्छनछ । किनकी उनलाई अधिकाँश कर्पौरेट घरानाहरुको साथ सहयोग रहेको चर्चा छन । उनी नेपाल राष्ट्र बैंकबाट सेवानिवृत भएको व्यक्ति पनि हुन ।
ढुंगाना बालुवाटारको सिग्नल पाएपछि आकर्षक जागिर छाडेर आएको अनुमानमा अन्य प्रतिप्रस्पर्धी हच्किएको देखिन्छ । कांग्रेस खेमाबाट गभर्नर भएमा ढुंगाना मुख्य दावेदार हुन ।
प्रा डा शिवराज अधिकारी
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत रहेका पाल्पाका अधिकारी त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्रका प्रध्यापक हुन । उनलाई गभर्नर बनाउने बारेमा प्रधानमन्त्री ओलीसहित अर्थमन्त्री पौडेल र अहिले ओलीका आर्थिक सल्लाहकार रहेका पूर्व अर्थमन्त्री तथा पूर्वगभर्नर डा युवराज खतिवडासहितको एमालेको उच्च नेताहरु समेत सकारात्मक रहेको चर्चा चलिरहेको छ ।
डा निलम तिम्सिना
झापा घर भएकी डेपुटी गभर्नर तिम्सिनाको गभर्नर बनाएर ‘महिला गभर्नर’ बनाएको जस लिनको लागि पूर्व राष्ट्रपति विद्या भण्डारीले समेत साथ दिइरहेको बताइएको छ । पहिलो महिला मुख्य सचिव बनाएको भनेर जस लिइरहेका ओलीले ‘गभर्नर पनि बनाइदिउ न’ भनेमा तिम्सिना गभर्नर नबन्लिन भन्न सकिन्न । उनले गभर्नरको लागि केही महिनादेखि नै दौडधुप गरिरहेकी छन्न।
रामेश्वर खनाल
पाल्पाका खनाल सरकारले आर्थिक सुधार सुझाव आयोगको संयोजक बनाएर खनाललाइ जिम्मेवारी दिएपछि उनी पनि गभर्नरको दावेदारका रूपमा हेर्न थालिएको हो । अहिलेको बिषम परिस्थितिको अर्थतन्त्र सम्हाल्न खनाल जत्तिको काविल अर्थशास्त्री चाहिने निष्कर्षमा बालुवाटार अहिले पनि छ ।
डा गुणाकर भट्ट
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्ट अर्थतन्त्रमा निकै गहन जानकारी राख्ने तर चाकरी चाप्लुसीमा विश्वास नराख्ने व्यक्तिको रुपमा चिनिन्छन । कांग्रेस खेमाका उनलाई गभर्नर बनाउन कांग्रेस भित्रका वौद्धिक जमातहरुको साथ रहेको र एमाले निकट केही अर्थशास्त्रीहरु पनि लागिरहेको बताइन्छ ।
डा प्रकाश श्रेष्ठ
अर्घाखाँचीका डा श्रेष्ठले बुधबार राष्ट्र बैंककै कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन् । अब उनलाई गभर्नरका प्रमुख दावेदार मानिएको छ ।
अर्थतन्त्रका साह्रै मिहिन जानकार मानिने उनी प्रति एमाले नेतृत्व शुरुदेखि नै ‘अत्यन्त सकारात्मक’ रहँदै आएको छ । एमाले महासचिव शंकर पोख्रेल लुम्बिनीको मुख्य मन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष रहेका श्रेष्ठ अर्थमन्त्री पौडेलको अघिल्लो कार्यकालमा प्रमुख आर्थिक सल्लाहकार थिए ।
सन् १९९७ देखि उनले राष्ट्र बैंकको विभिन्न पदमा रही कार्य गर्दै आएका छन् । उनले लुम्बिनी प्रदेश सरकारको अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार तथा सोही प्रदेशको प्रदेश योजना आयोगको अध्यक्ष भई कार्य गरेका थिए ।
सुनिल केसी
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका केसी पनि अनुभवी बैकर मानिन्छन् । उनी पनि गभर्नरको दावेदार मानिन्छन् । नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष समेत रहेका केसी कुनै पनि राजनीतिक केनेन्सन नभएकाले गभर्नर बन्नका लागि नेता र दलहरुको नजिक बन्न पर्ने भएकाले उनलाई गभर्नर बनाउन कुन पार्टीले मान्ला र भन्नेहरु पनि छन् ।