वृज हिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच संस्थागत परामर्श कार्यको निम्ति सहकार्य

काठमाडौ । प्रिमियम पिउने पानी उद्योगमा नयाँ ब्राण्ड निर्माण गर्दै व्यवसाय विस्तार गर्ने उद्देश्यसहित वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले एनएमबि क्यापिटल लिमिटेडसँग संस्थागत परामर्श कार्यका लागि सहकार्य गर्ने भएको छ। एनएमबि क्यापिटललाई कम्पनीले आधिकारिक संस्थागत परामर्शदाता नियुक्त गरेको हो।
कम्पनीका अनुसार यो सहकार्य दीर्घकालीन व्यावसायिक लक्ष्य हासिल गर्न एक महत्वपूर्ण रणनीतिक कदम हो। एनएमबि क्यापिटलले पूँजी पुनःसंरचना, वित्तीय सल्लाह, तथा रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया लगायतका कार्यमा वृजहिमालयन स्प्रिङलाई परामर्श सेवा प्रदान गर्नेछ।
वृजहिमालयन स्प्रिङ हाल ‘पूर्ण’ ब्राण्ड अन्तर्गत १ लिटर, ५०० मिलिलिटर, २५० मिलिलिटर बोतल र २० लिटर जारमा मिनरल तथा प्रशोधित पिउने पानी उत्पादन गरिरहेको छ। कम्पनीले आफ्नो उत्पादन विस्तार गर्दै प्रिमियम पानी बजारमा स्थापित ब्राण्ड बनाउने लक्ष्य लिएको छ।
कम्पनीका प्रबन्ध निर्देशक सत्यम केडियाले एनएमबि क्यापिटलसँगको सहकार्यलाई “साझेदारीको नयाँ अध्याय”को संज्ञा दिएका छन्। उनले भने, “एनएमबि क्यापिटलको अनुभव र विशेषज्ञता हाम्रो परियोजनाको विकासमा महत्वपूर्ण टेवा पुर्याउनेछ। हामी सरोकारवालालाई उच्च प्रतिफल दिने प्रतिबद्धतासहित अगाडि बढिरहेका छौँ।”
एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले उत्पादन क्षेत्रका नयाँ उद्यमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन्। “वृजहिमालयन स्प्रिङसँगको सहकार्यले नयाँ सम्भावनाहरूको ढोका खोल्नेछ,” उनले बताएका छन्।
वृजहिमालयन स्प्रिङ, केडिया अर्गनाइजेसनको नयाँ परियोजनाको रुपमा अघि बढेको हो। मनोज केडियाको नेतृत्वमा रहेको उक्त अर्गनाइजेसनले विगतमा बैंकिङ, बीमा, सिमेन्ट, स्टील, ग्लास लगायतका क्षेत्रमा सफलता हासिल गर्दै आएको छ। कम्पनीले शेयरधनीलाई उच्च प्रतिफल दिने रणनीति अनुरूप यो नयाँ व्यवसाय पनि अघि बढाउने जनाएको छ।