गणतन्त्रवादी र राजावादीको प्रदर्शनका लागि तोकिए दुई फरक ठाउँ

काठमाडौं । गणतन्त्रवादी र राजावादी दुई समूहले १५ चैतमा काठमाडौंमा गर्ने भनिएको प्रदर्शनका लागि दुई फरक ठाउँ तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरलाई प्रदर्शन गर्न दुई फरक ठाउँ तोकेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डपको ठाउँ दिइएको छ ।
राजातन्त्र पक्षधर तथा दुर्गा प्रसाईं समूहलाई तीनकुने ठाउँ तोकिएको उनले बताए ।
गणतन्त्री पक्षधरमा समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले प्रदर्शन गर्दैछन् ।
यता मेडिकल व्यवसायी दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का तर्फबाट प्रदर्शन हुँदैछ । प्रदर्शनका लागि प्रसाईं समूहबाट ठाउँ माग भएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
दुई फरक समूहले एकै दिन प्रदर्शन गर्ने भएपछि प्रहरीले पनि त्यही अनुसारको सुरक्षा रणनीति बनाउने तयारी गरेको छ ।