ज्योति विकास बैंकले विभिन्न स्थानमा गर्यो वित्तीय साक्षरताका कार्यक्रम

काठमाडौं । ज्योति विकास बैंकयही ४ देखि १० चैतसम्म मनाइएको ‘ग्लोबल मनी विक २०२५ अभियान’अन्तर्गत देशकाविभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विभिन्न शाखाहरूमार्फत युवावर्गमा लक्षित वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरू आयोजना गरेको हो ।
बैंकले डिजिटल माध्यम र सोसल मिडियामार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । यस अभियानमार्फत करिब १ हजार जनाभन्दा बढी व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको बैंकले जनाएको छ ।
सो कार्यक्रमअन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयहरूअन्तर्गत रहेका विभिन्न शाखा कार्यालयहरूमार्फत सोही क्षेत्रका विद्यालय तथा कलेजहरूमा आधुनिक बैंकिङ, बैंक तथा वित्तीय संस्थाका मुख्य कार्यहरू, वित्तीय अनुशासन, आवश्यकता तथा चाहनाहरू, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय वित्तीय सेवाहरू, नगदरहित कारोबार, धितोपत्र बजार, विद्युतीय ठगी, ओटीपीसम्बन्धी ज्ञानलगायतका विषयहरूबारे प्रशिक्षण दिइएको थियो ।
बैंकका अनुसार, यस अभियानअन्तर्गत १५ वटाभन्दा बढी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो । साथै, बैंकले ग्लोबल मनी विक अवधिभर बैंकका सामाजिक सञ्जालहरूमा विभिन्न अडियो भिजुअल सामग्रीहरू प्रकाशित गर्ने तथा प्रभात फेरी कार्यक्रमहरू आयोजना गरी विभिन्न वित्तीय सूचनाहरू पनि प्रवाह गरेको छ । यस्ता कार्यक्रमले वित्तीय साक्षरताको महत्त्वका बारेमा जागरण ल्याउने तथा सानै उमेरदेखि बालबालिका र युवाहरूमा वित्तीय साक्षरता प्रवर्द्धन गर्ने, उनीहरूलाई वित्तीय निर्णयहरू लिन र भविष्यमा सक्षम नागरिक बन्न आवश्यक ज्ञान, सीप र व्यवहारले सशक्त बनाउने उद्देश्यमा स्पष्ट योगदान पुर्याउने बैंकको विश्वास छ ।