ग्लोबल मनी वीकको अवसरमा सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। ‘Think Before You Follow, Wise Money Tomorrow’भन्ने नारासहित चैत ४ देखि १० गतेसम्म सञ्चालन गरिएको उक्त अभियान बैंकका ४९ शाखा कार्यालयहरू मार्फत सम्पन्न गरिएको हो।
बैंकले दिएको जानकारी अनुसार, कार्यक्रमहरूमा सहभागी भएका युवा, विद्यार्थी तथा सर्वसाधारण हरूलाई वित्तीय ज्ञान प्रदान गरिनुको साथै बचत, कर्जा, बैंकिङ व्यवहार, विद्युतीय कारोबार र डिजिटल बैंकिङमा बढिरहेको जोखिम र अपराध सम्बन्धी विस्तृत जानकारी दिइएको थियो।
वित्तीय साक्षरतामार्फत बैंकिङ प्रणालीको प्रयोग, नगद कारोबारको सुरक्षा, विप्रेषणको सहजता, र डिजिटल लेनदेनमा सावधानीबारे सचेतना फैलाइएको थियो।
कार्यक्रममा नगद कारोबारभन्दा डिजिटल माध्यमको प्रयोगलाई प्राथमिकता दिनु, सुरक्षित बैंकिङ अभ्यासमा जोड दिनु र बैंकिङ प्रणालीप्रति विश्वास बढाउनु मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ।
सिटिजन्स बैंकका अनुसार, यस्ता कार्यक्रमहरूले युवा पुस्तामा वित्तीय चेतना अभिवृद्धि गर्ने मात्र नभई देशको समग्र वित्तीय प्रणालीलाई मजबुत बनाउने विश्वास गरिएको छ।