जीवन बिमा कम्पनीहरुले ८ महिनामा गरे १ खर्ब ९ अर्बको व्यापार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को ८ महिना (साउनदेखि फागुन) सम्ममा जीवन बिमा व्यवसाय गर्ने बिमकहरुले १ खर्ब बढी बिमा शुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १४ वटा जीवन बिमा तथा ३ लघु बिमा कम्पनीहरुले फागुन मसान्तसम्ममा कुल १ खर्ब ९ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको नेपाल बिमा प्राधिकरणको तथ्यांकले देखाएको छ । पछिल्लो १ महिनामा जीवन बिमा कम्पनीहरुको व्यापार १३ अर्ब ४२ करोड ४० लाख रुपैयाँले बढेको हो ।
बिमा प्राधिकरणको तथ्यांक अनुसार फागुनसम्ममा १४ जीवन बिमा कम्पनीले वैदेशिक रोजगार बाहेकको प्रथम बिमा शुल्क २१ अर्ब १२ करोड ५४ लाख, वैदेशिक रोजगार बिमा शुल्क १ अर्ब ९६ करोड ६४ लाख तथा नवीकरणबापत ८५ अर्ब ६१ करोड ९३ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।
यस्तै, जीवन बिमाको कारोबार गर्ने ३ लघु बिमा कम्पनीहरुले ४० करोड १२ लाख प्रथम बिमा शुल्क, ३१ करोड ४८ लाख वैदेशिक रोजगार बिमा शुल्क तथा नवीकरणबापत ८५ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । लघु जीवन बिमकले ८ महिनामा कुल ७२ करोड ४६ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् ।
फागुन मसान्तसम्म बिमा शुल्क संकलनको हिसाबले नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । नेपाल लाइफले माघसम्म २९ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । दोस्रो स्थानमा रहेको नेसनल लाइफले १३ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । त्यस्तै, तेस्रामा एलआइसी नेपालले १२ अर्ब ५६ करोड ५ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।
फागुन महिनामा मात्रै १४ जीवन बिमा कम्पनीहरुले १३ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुनमा १४ वटा जीवन बिमा कम्पनीहरुले १ खर्ब ४६ अर्ब २३ करोड ४ लाख रुपैयाँ बीमांक रकम बराबरको ४ लाख १९ हजार २५३ वटा बिमा लेख बिक्री गरेका छन् । यस्तै, ३ वटा लघु जीवन बिमा कम्पनीहरुले फागुनमा मात्रै ९ करोड ९३ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् भने ४६ हजार ९९७ वटा बिमा लेख जारी गरेका छन् ।