विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेको हो । यता, प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई चयन गरिएको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
शाक्य यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भइसकेका थिए । पछि उनलाई हटाएर कुलमानलाई नै कार्यकारी निर्देशक बनाइएको थियो ।
उनी विगतमा प्रसारण लाइनको गुरुयोजना, विद्युत माग प्रक्षेपणलगायतका कामका सक्रिय थिए ।
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को नेपाल कार्यालयमा एमसीसीअन्तर्गत प्रसारण लाइनका आयोजना बनाउने काममा सहभागी थिए ।
उनले नै एमसीसीको सहायतको रकम खर्च गरिने प्रसारण लाइनको योजना तयार गरेका थिए । उनी प्रसारणलाइन व्यवस्थापनका विज्ञ हुन् ।