वैकल्पिक सडकहरुको विकास प्राथमिकतामा राख्ने भौतिक मन्त्री दाहालको प्रतिवद्धता

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय राजमार्गहरु अवरुद्ध हुन नदिन वैकल्पिक सडकहरुको विकास र विस्तार गरिने बताएका छन् ।
शनिवार ललितपुरका विभिन्न ग्रामिण क्षेत्रका सडकहरुको निरीक्षणका लागि पुग्नु भएका उहाँले वैकल्पिक सडकहरुको विकास र विस्तार गरि ग्रामिण क्षेत्रमा समेत सडकको पहुँच स्थापित गरिने बताएका हुन । महाङ्काल गाउँपालिका कार्यालयमा आयोजीत अन्तरक्रियामा उहाँले वैकल्पिक सडकहरुको विकास र विस्तारले ग्रामिण क्षेत्रमा सडक सञ्जाल स्थापित हुनका साथै राष्ट्रिय राजमार्गहरुको विकल्प समेत तयार हुने बताए ।
जनप्रतिनिधी एवम् स्थानीयबासीहरुले राखेको लेले–चन्दनपुर–फापरवारी सडक निर्माण र विस्तारको मागलाई संवोधन गर्दै उनले पूर्वी नेपाल र संघीय राजधानीलाई जोड्न यो सडक नयाँ विकल्प हुन सक्ने भएकाले आवश्यक अध्ययन गरिने बताए । सो क्रममा उहाँले उक्त सडकको सम्भाव्यता अध्ययन गर्न संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपानेलाई निर्देशन समेत दिए ।
भेटमा पूर्व सांसद नवराज सिलवालले सो सडक खण्डलाई चतारा–धरान सडकमा जोड्न सके पूर्वी नेपाल जोड्ने वैकल्पिक रुट तयार हुने बताए । उनले ललितपुरको दक्षिणी क्षेत्र संघीय राजधानी भित्र भएर पनि दुर्गम रहेको भन्दै उक्त सडक विस्तारले स्थानीको आर्थिक विकासमा समेत सहयोग पुग्ने बताए ।
यस्तै एमाले केन्द्रिय सदस्य रुपनारायण श्रेष्ठ, ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्य लगायतले लेले–चन्दनपुर–फापरवारी सडकलाई वीपी राजमार्ग तथा पूर्वी तराईसँग जोड्न जरुरी रहेकोमा जोड दिए ।
यसैगरि महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी, कोन्ज्योस्याङ् गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले दक्षिणी ललितपुरलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न माग गर्नुभयो । सो क्षेत्रमा प्रदेश सरकार मार्फत सडक निर्माणको काम भई रहे पनि पर्याप्त नहुने भएकाले संघीय सरकारलेनै प्राथमिकतामा राख्नु पर्ने माग गर्नु भयो । मन्त्री दाहालले सडक डिभिजन कार्यालय ललितपुरका प्रमुख गोपाल खकुरेल, विभागका ईन्जिनियर प्रमोद खतिवडा एवम् प्राविधिकहरुको टोली सहित ग्रामिण सडकहरुको निरीक्षण गर्नु भएको हो ।