नेपालमा व्यवसाय र मानव अधिकार प्रवर्द्धनका लागि राष्ट्रिय संवाद सम्पन्न

ललितपुर । नेपालमा व्यवसायिक अभ्यासलाई मानव अधिकार अनुकूल बनाउन सरकार, निजी क्षेत्र, नागरिक समाज र अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहभागितामा व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद सम्पन्न भएको छ।
नेपालको व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक उपायहरूबारे छलफल गर्न आयोजित यस कार्यक्रममा जिम्मेवार व्यावसायिक आचरण, नैतिक आपूर्ति श्रृंखला, कर्पोरेट उत्तरदायित्व, नियामक संरचना, तथा सरकारको भूमिका जस्ता विषयमा केन्द्रित छलफल भएको थियो।
महान्यायाधिवक्ता रमेश वडालले व्यवसायहरूले मानव अधिकारलाई बेवास्ता गरेर उन्नति गर्न नसक्ने बताउँदै व्यवसाय क्षेत्रमा मानव अधिकारको सम्मान अनिवार्य हुनुपर्ने धारणा राखे। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले मानव अधिकारको प्रवर्द्धनका लागि बहुपक्षीय दृष्टिकोण आवश्यक रहेको भन्दै नीति कार्यान्वयनमा सहकार्यको महत्वमा जोड दिए।
संयुक्त राष्ट्रसंघका प्रतिनिधि तथा अन्य अन्तर्राष्ट्रिय साझेदारहरूले नेपालको व्यवसायिक क्षेत्रमा मानव अधिकार प्रवर्द्धन गर्न नीतिगत सुधार तथा कर्पोरेट उत्तरदायित्वको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको औंल्याए।
राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले व्यवसायहरूले निष्पक्ष श्रम नीति, पारदर्शिता, र वातावरण संरक्षणलाई आत्मसात् गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरू, तथा नागरिक समाजका सरोकारवालाहरूको सहभागिता रहेको थियो। नेपालमा व्यवसाय सञ्चालनलाई मानव अधिकार अनुकूल बनाउन सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको छ।