नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबी बैंक, वित्त निगम र युरोपियन युनियनको साझेदारी

काठमाडौं । एनएमबी बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग सहकार्य र युरोपियन युनियनको ACSIIS कार्यक्रमको सहयोगमा तीन दिने तालिम सञ्चालन गर्याे । सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू ऊर्जा, कृषि व्यवसाय, र सान तथा मझैला उद्यम क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो ।
नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिमले बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक र सुशासन (ईएसजी) अभ्यासहरूलाई समाहित गर्न जोड दियो, जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्याउँछ ।
आईएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे गहिरो ज्ञान हासिल गर्न एनएमबी बैंकका व्यवसायिक टोली, E&S तथा जोखिम अधिकृतहरू तथा ग्राहकहरू गरी ९० जना सहभागी भएका थिए ।