अनेरास्ववियु मकवानपुरमा जिल्ला अध्यक्ष बर्तौलाको नेतृत्वमा क्लीन स्वीप

सन्तोष भट्टराई
मकवानपुर । अनेरास्ववियु मकवानपुरले जिल्ला अध्यक्ष अमृत बर्तौलाको नेतृत्वमा स्ववियु निर्वाचनमा प्रभावशाली नतिजा निकाल्दै विद्यार्थी राजनीतिमा आफ्नो मजबुत उपस्थिति देखाएको छ। जिल्लाका प्रमुख क्याम्पसहरूमा भएको निर्वाचनमा अखिलले विभिन्न पदमा विजय हासिल गर्दै विद्यार्थी हक, हित, अधिकार र मुद्दाहरूलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।
मकवानपुर बहुमुखी क्याम्पसमा भने अनेरास्ववियुका प्रसिद्ध रेग्मीले ७०६ मतसहित अध्यक्ष पदमा जित हात पारेका छन्। उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका छोइसाङ लामाले ५०७ मत प्राप्त गरे। लामा अघिल्लो कार्यकालमा स्ववियु अध्यक्ष थिए, भने रेग्मी त्यसै कार्यसमितिका सदस्य थिए ।
हेटौंडा क्याम्पसमा अनेरास्ववियुका अभी मैनालीले २५१ मतसहित प्यानल जित हासिल गरे। बंश गोपाल बहुमुखी क्याम्पसमा दिवस सिलवाल निर्विरोध निर्वाचित भए, जबकि निर्मल बहुमुखी क्याम्पसमा प्रशान्त भण्डारी ५३ मतसहित प्यानल विजयी भए।
विद्यार्थीका हक, हित र अधिकारप्रति प्रतिबद्धता अध्यक्ष बर्तौलाले यस जितलाई विद्यार्थी आन्दोलनको सफलता भन्दै अब संगठन अझ सशक्त भएर अघि बढ्ने बताएका छन् । उनले भने, “विद्यार्थीहरूको अधिकार रक्षा, गुणस्तरीय शिक्षा, उचित शुल्क संरचना, छात्रवृत्ति कार्यक्रम, पूर्वाधार विकास, विद्यार्थी रोजगारी र सीपमूलक शिक्षाको सुनिश्चितताका लागि हाम्रो संगठन निरन्तर संघर्ष गर्नेछ।” बर्तौलाले निजी शिक्षालयहरूले विद्यार्थी शोषण गर्ने प्रवृत्तिको विरोध गर्दै सरकारी क्याम्पसहरूमा सुविधाको विस्तार आवश्यक रहेको बताए। उनका अनुसार, उच्च शिक्षामा पहुँच सुनिश्चित गर्न सरकारले प्रभावकारी नीति ल्याउनुपर्नेछ। स्ववियु नेताहरूले सिट क्षमताअनुसार भर्ना नीति, पुस्तकालय तथा प्रयोगशालाको विस्तार, कलेज यातायात सेवा सुधार, खेलकुद र अतिरिक्त क्रियाकलाप प्रवर्द्धनजस्ता विषयलाई मुख्य एजेन्डाका रूपमा अघि बढाउने बताएका छन्।
यो निर्वाचनले मकवानपुरका विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा थपेको छ। विद्यार्थी मुद्दाहरूमा सशक्त आवाज उठाउँदै संगठनहरूले प्रतिस्पर्धी नतिजा निकालेका छन्, जसले आगामी दिनमा विद्यार्थी सरोकारका विषयहरूलाई अझ मजबुत रूपमा अघि बढाउने संकेत दिएको छ।