उर्जामन्त्री खड्काको पहलमा क्षतिपूर्ति पाउने व्यवस्था

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा मनसुनजन्य विपदमा वेपत्ता भएका नागरिकको परिवारले क्षतिपूर्ति पाउने व्यवस्था गरेका छन् ।
विस २०८० असार २ गतेको अविरल वर्षाका कारण बाढीबाट संखुवासभा, पाँचथर, ताप्लेजुङ, भोजपुरलगायतका जिल्लामा दर्जनौँ मानिस वेपत्ता भएसँगै संखुवासभाका प्रतिनिधीसभा सदस्यसमेत रहनुभएका मन्त्री खड्काले वेपत्ता नागरिकको क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गर्दै आएका थिए ।
उक्त बाढीमा परेर संखुवासभाको हेवाखोलामा मात्र १९ नागरिक वेपत्ता भएका थिए । मन्त्री खड्काको पहलमा विस २०८१ फागुन १२ गते बसेको मन्त्रीपरिषद्को बैठकले मनसुनजन्य प्रकोपमा वेपत्ता भएको व्यक्ति कम्तिमा १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकसरह राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।
उक्त निर्णयसँगै अब देशभर विस २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपद्मा परी वेपत्ता भएका नागरिकको परिवारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकसरह राहत पाउने भएका छन् । उक्त व्यवस्थाले पीडित नागरिकको परिवारमा थोरै भएपनि राहतको अनुभूती भएको छ ।