विद्युत आपूर्तिका सम्वन्धमा उद्योग संगठन मोरङको ध्यानाकर्षण

विराटनगर । भारतबाट आयात हुदै आएको विद्युत बेलुका ६ बजे देखि विहान ६ बजेसम्म पूर्ण रुपमा कटौति गर्ने (सोलार विद्युत मात्र उपलब्ध गराउने) र औद्योगिक प्रतिष्ठानहरुमा दैनिक १२ घण्टा भन्दा बढि लोडसेडिङ हुन सक्ने भनी विभिन्न संचार माध्यममा आएको खबर प्रति उद्योग संगठन मोरङको गम्भिर ध्यानाकर्षण भएको छ । त्यसैपनि गत पुश महिना देखि नै अघोषितरुपमा दैनिक ४–६ घण्टा विद्युत आपूर्तिको समस्या झेलिरहेका औद्योगिक प्रतिष्ठानहरुलाई थप कष्टकर बनाउने भएकोले तत्काल यस समस्याको समाधान खोज्न उद्योग संगठन मोरङले नेपाल सरकार सम्बद्ध पक्षसंग जोडदार माग गरेको छ ।
विगत पाँच सात बर्षदेखि नै हरेक सुख्खा याममा विद्युत आपूर्ति अवरुद्ध हुदा संगठनले शशक्त आवाज उठाईरहेको र सम्बद्ध पक्षबाट ट्रान्समिशन लाईन निर्माण भईसकेको चाँडै यस प्रकारको विद्युत आपूर्तिमा अवरोध नहुने आश्वासन दिईरहेको थियो । तर हाल भारतबाट आयात कटौती भई विद्युत आपूर्ति अवरुद्ध हुने जस्तो कुराले उद्योगी व्यवसायीहरुलाई आश्चर्य चकित मात्रै बनाएको छैन विद्युत आपूर्तिको दिर्घकालिन व्यवस्थापन गरी समस्या समाधानका लागि कुनै ठोस पहल र प्रयास नभएकोमा चिन्तित समेत तुल्याएको छ । यस अवस्थाले उद्योगहरुमा ६–१२ घण्टासम्म विद्युत आपूर्ति पूर्ण रुपमा वन्द गर्ने विषयले थप अन्यौलता थपेको छ ।
नीजि क्षेत्रले अनुमानयोग्य औद्योगिक वातावरण हुनु पर्दछ भनी निरन्तर माग गर्दै आएको विदितै छ । बजारमा कहिले तरलता अभाव, कहिले ब्याज बृद्धि, आर्थिक संकुचन एवं कहिले झ्याप्प कसिलो त कहिले खुकुलो गर्ने नीतिगत अस्थिरताको चपेटामा परेको नेपालको औद्योगिक क्षेत्र हाल आएर पर्याप्त भनिएको विद्युत जस्तो आधारभूत तथा संवेदनशिल श्रोतको उपलब्धतामा समेत आयातमा आश्रित हुनु पर्ने अवस्थाले अन्योलता बढेको छ । आफ्नै मुलुकमा प्रचुरमात्रामा रहेको जलश्रोतको धनी देश हुदा हुदै पनि दिर्घकालिन सोच, आत्मनिर्भरता प्रतिको ठोस कार्य नगर्दा औद्योगिक क्षेत्र प्रताडित बनेको छ ।
उर्जा उद्योगको आधारभूत कच्चा पदार्थ हो । माग अनुसारको विद्युत नियमित आपूर्ति हुने सुनिश्चीततासंगै एउटा लगानीकर्ताले उद्योग कलकारखानामा लगानी गर्दछ । तर विद्युत आपूर्तिमा देखिएको अनिश्चितताका कारण भएको लगानी जोखिममा पर्ने मात्र नभई नया लगानी समेत प्रभावित हुने निश्चित भएकाले प्रत्येक वर्ष सुख्खायाममा दोहरीने निरन्तर विद्युत आपूर्तिको समस्याका साथै भारतबाट आयात भईरहेको विद्युत आपूर्ति अवरुद्ध हुदा उद्योग व्यवसायलाई निरन्तर विद्युत उपलब्ध गराउन प्राधिकरणको के कस्तो योजना छ सो सार्वजनिक गर्न सगठन नेपाल सरकार उर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण समक्ष जोडदार माग गर्दछ । विद्युत आपूर्तिमा शुख्यायाममा हरेक बर्ष नै यो तहको विकराल समस्या थाहा हुदा हुदै पनि ठोस योजना ल्याउन भन्दा पनि सरकारका सम्बद्ध निकायहरु बिचमा नै आपसी द्धन्दको अवस्था हुनु दुःखद रहेको भन्दै उद्योगहरुमा निरन्तर र गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्थाका लागी तत्काल ठोस कदम चाल्न संगठनले नेपाल सरकारलाई अनुरोध गरेको छ ।