बर्ली एयर कूलर नेपालमा लन्च, केके छन् विशेषता ?

काठमाडौं । भारतको ठूला ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चररमध्ये एक बर्ली होम एप्लायन्सले नेपालमा आफ्ना १७ आधुनिक एयर कूलरहरू सार्वजनिक गरेको छ। काठमाडौंको भिवान्ता होटलमा आयोजित कार्यक्रममा यी नयाँ उत्पादनहरू नेपाली बजारमा भित्र्याइएको घोषणा गरिएको हो।
सोमबार सम्पन्न उक्त कार्यक्रमको उद्घाटन सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले गरेका हुन्। कार्यक्रममा प्रमुख व्यापार साझेदार, वितरक, सञ्चारकर्मी तथा अन्य व्यवसायिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले कार्यक्रममा बोल्दै नेपाली उपभोक्तालाई आधुनिक प्रविधि, उन्नत डिजाईन र उच्च ऊर्जा दक्षता भएका एयर कूलरहरू प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, बर्लीले नेपालमा आफ्नो व्यवसायिक उपस्थिति बलियो बनाउँदै नयाँ उत्पादनहरू ल्याउने योजना रहेको समेत बताएका छन्।
नेपालमा बर्ली एयर कूलरको आधिकारिक एकमात्र वितरकका रूपमा सीजी इलेक्ट्रोनिक्स नियुक्त गरिएको छ। बर्ली र सीजी इलेक्ट्रोनिक्सको सहकार्यले ग्राहकलाई किफायती मूल्यमा उच्च गुणस्तरका उत्पादनहरू सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ।
बर्लीले भारतीय बजारमा आफ्नो मजबुत उपस्थिति स्थापित गरिसकेको छ। अब नेपाली बजारमा पनि यसले नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अनुमान गरिएको छ। कम्पनीका अनुसार यी एयर कूलरहरू विशेष रूपमा नेपाली मौसम अनुरूप डिजाइन गरिएका छन्, जसले गर्मी महिनामा उच्च शीतलता प्रदान गर्नेछ।
नेपालमा बर्लीको आगमनले एयर कूलर बजारमा नयाँ विकल्प थपिएको छ। नेपाली ग्राहकले अब नवीन प्रविधि, उत्कृष्ट डिजाइन र किफायती मूल्यका साथ बर्लीका उत्पादनहरू खरीद गर्न सक्नेछन्।