नेप्सेको सीइओको लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

काठमाडौं । नेपाल स्टक एक्सचवेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन दिएकामध्ये ५ जनाको नाम अन्तरवार्ताको लागि ‘सर्टलिस्ट’ गरिएको छ । ‘सर्टलिस्ट’ मा पर्नेमा चुडामणि चापागाईं, नारदकुमार लुइटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदको लागि १० जनाले आवेदन दिएका थिए । उनीहरुबाट नेप्से सीइओ नियुक्तिको लागि गठित सिफारिस समितिले ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको हो । उनीहरुलाई चैत ६ गते बिहान ७ बजे व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताको लागि बोलाइएको छ ।
यसअघिका सीइओ कृष्णप्रसाद कार्कीको कार्यकाल माघ २४ गते सकिएको थियो । उनको कार्यकाल सकिएसँगै सरकारले नेप्से सीइओ नियुक्तिको लागि गठित सिफारिस समितिले आवेदन खुला गरेको थियो । आवेदन खुला समयअवधिमा १० जनाको आवेदन परेको थियो ।
आवेदन दिनेमा पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल, नारदकुमार लुइटेल, युवराज दाहाल रहेका थिए । त्यस्तै, प्रविण अधिकारी, चुडामणि चापागाईं, बिमल कुमार तिवारी, सिराहा, कृष्णबहादुर कार्की, हेमन्त बस्याल र मुकन्दराज जोशीले आवेदन दिएका थिए । उनीहरुबाट ५ जनाको नाम ‘सर्टलिस्ट’ भएको हो ।