नाडा अटो शो २०२५ को स्टल बुकिङका लागि रजिस्ट्रेसन आजदेखि खुला, भदौ ३ देखि हुने

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आगामी ३ देखि ८ भदौसम्म १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुुुुटीमण्डपमा आयोजना हुने उक्त कार्यक्रमका लागि सोमबारदेखि स्टल बुकिङका लागि रजिस्ट्रेसन खुला गरिएको नाडाले जानकारी गराएको छ । स्टल बुकिङ आगामी ४ चैतसम्म गरिसक्नुपर्ने नाडाले जनाएको छ ।
प्रदर्शनीमा भाग लिनेसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्यधिक माग भएकाले विगतका संस्करणहरू जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडाको भनाइ छ ।
नाडाका अनुसार प्रदर्शनीमा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे, चारपाङ्ग्रे, लाइट कमर्सियल, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरूलगायत वित्तीय संस्था र इन्स्योरेन्सलाई समूहअनुसार छुट्याइएको हुँदा सोहीअनुरुप रजिस्ट्रेसन गर्न मिल्ने व्यवस्था मिलाइएको छ । यसपटकको अटो शोमा भारत र चीनलगायतका अटोमोबाइल कम्पनीहरूबाट समेत जानकारी माग भइरहेकाले गतवर्षहरूको तुलनामा यस वर्ष छिट्टै रजिस्ट्रेसन खुल्ला गरिएको हो ।
नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनाका लागि विशेष योगदान पुर्याउँदै आइरहेको सवारीसाधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आमउपभोक्ताहरूलाई यस नाडा अटो शो २०२५ ले सकारात्मक ऊर्जा एवं नवीनतम प्रविधिहरूको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिएकोे छ ।