भ्रामक समाचार आएको प्रति उद्योग मन्त्रालयको आपत्ति

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही अनलाइन तथा छापा माध्यममा आएका समाचार प्रति आपत्ति जनाएको छ । नेपाल आयल निगमलको सञ्चालक समितिबाट पेट्रोलियम पदार्थको विक्रेतालाई दिने रकममा वृद्धि भएको र ग्याँस उद्यमीको ढुवानी तथा लागत खर्चमा केही सामान्य वृद्धि भएको विषयमा विगत केही दिन देखी आएका समाचार प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पेट्रोलियम बिक्रेताको कमिसनमा प्रतिशत वृद्धि भएको नभई विगतमा प्रयोगमा आएको मूल्य वृद्धिलाई मध्यनजर गरी निश्चित मूल्यभन्दा बढी नपाउने गरी क्यापिङ्ग गरिएकोमा विगत तीन वर्षदेखि ढुवानी व्यवसायीको व्यावसायिक खर्चमा वृद्धि भएको कारणले गर्दा क्यापिङ्ग खुलाई स्वचालित मूल्य वृद्धि प्रणाली अनुसार नै मूल्य वृद्धि गर्ने पेट्रोलियम ढुवानी सम्बद्ध संघ संस्थाहरूले माग गरिएको विषयमा नेपाल आयल निगमको सञ्चालक समितिबाट क्यापिङ्ग गरिएको मूल्यमा सामान्य बढोत्तरी भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले हाल क्यापिङ्गमा भएको वृद्धि र ग्याँस सिलिन्डरको ढुवानी र प्रशासनिक खर्चमा भएको वृद्धिबाट पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य वृद्धि नहुने जनाएको छ । ग्याँस उद्योगीहरूको लागि प्रति सिलिन्डर व्यवस्थापकीय र अन्य खर्चबापत विगत ६ वर्षदेखि पुनरावलोकन नगरिएको विषयमा उद्योगीहरूबाट विभिन्न समयमा राखिएको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा एक अध्ययन समिति बनाई समितिको प्रतिवेदनको आधारमा निगम सञ्चालक समितिबाट भएको निर्णयको विषयलाई अतिरञ्जित गरी मन्त्री लगायत अन्य कर्मचारीहरूलाई विभिन्न लाञ्छना लगाई समाचार प्रकाशन भएको विषयमा मन्त्रालयको तर्फबाट खेद व्यक्त गरेको छ ।
समाचारमा सम्प्रेषण भएको विषय निराधार र कपोलकल्पित रहेको र उक्त समाचारमा कुनै सत्यता नभएको विज्ञप्तिमा भनिएको छ ।
उक्त विज्ञप्तिमा अब उप्रान्त यसरी समाचार प्रकाशन गर्दा सरोकारवाला निकायसँग राम्रो जानकारी लिई सत्य तथ्यमा आधारित समाचार मात्र प्रकाशन तथा प्रसारण गर्न मन्त्रालयले सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ ।