संगिता मिश्रा सचिव नबन्नुका यी ५ कारण

काठमाडौं । आफू सचिव नबन्दा मधेशी र महिलामाथि विभेद भएको दावी गर्ने संगिता कौशल मिश्रालाई सचिव नबनाउन उनीसँग काम गरेका कर्मचारीहरु तथा पेशागत क्षेत्रका कर्मचारीहरुले ठूलो दबाब दिएको खुलेको छ ।
सचिव नबनाउन सहकर्मीकै दबाब
आफू स्वास्थ्य सेवा विभागको महानिर्देशक तथा अतिरिक्त सचिव हुँदा रुखो व्यवहार देखाउने तथा समन्वय नै नगर्ने उनको बानीका कारण मिश्रा सचिव भएमा काम गर्नै नसकिने भन्दै कर्मचारीहरको टोली स्वास्थ्य मन्त्री प्रदिप पौडेलकहाँ डेलिगेशन गएको थियो । यसबाहेक पेशागत संगठनहरु नेपाल चिकित्सक संघ, नर्सिग काउन्सिल, मेडिकल एसोसिएसन लगायतका प्रतिनिधिले समेत उनको रुखो शैली र काम गर्ने व्यवहारका कारण मिश्रालाई सचिव नबनाउन मन्त्री मात्र नभएर प्रधानमन्त्रीसम्मलाई दबाब दिएको खुलेको छ । विभागमा रहँदा मन्त्रालयसँग समन्वयसमेत नगर्ने बानीका कारण उनीबाट कर्मचारीहरु आजित रहेकाले पनि मिश्रा सचिव भएमा काम गर्न नसकिने कर्मचारीको भनाइ थियो ।
सचिव भएका विकास देवकोटा नरम र सेवा अवधिका हिसाबले समेत मिश्राभन्दा बढी समय स्वास्थ्य सेवामा बिताएका अनुभवी भएकाले उनैलाई सचिव नियुक्त गर्न चौतर्फी दबाब परेको थियो ।
बिधि मिच्दै सिनियर दिपेन्द्ररमणलाई हटाएर बनेकी थिइ न्स्वास्थ्य विभाग प्रमुख
मन्त्रिपरिषदले विधिअनुसार नै स्वास्थ्य सचिव नियुक्ती गर्दा ीवधिको कुरा गर्दै आफूअन्यायमा परेको दावी गर्ने मिश्रा आफैं भने विधि मिच्दै आफूभन्दा सिनियर दीपेन्द्ररमण सिंहलाई हटाउन तत्कालीन मन्त्री मोहन बस्न्ेतलाई चरम दबाब दिंदै पद लिएकी थिइन् । उनको हठ र दबाबपछि तत्कालीन स्वास्थ्य मन्त्री मोहन बस्नेतले स्वास्थ्य सेवा विभाग टेकुका प्रमुख सिनियर अतिरिक्त सचिव सिंहलाई हटाएर मिश्रालाई नियुक्ति दिएका थिए ।
सामानै नआइकन खाली बाक्सा लिएर १२ करोड ५५ लाख भ्रष्टाचार
संगिताले फाइल छिटो अघि बढाउने भने पनि उनले पैसा नलिइकन कुनै पनि फाइल अघि नबढाएको गुनासो मन्त्रालयमा पटक पटक आएको थियो । पैसा पाएमा तत्काल अघि बढाउने उनले विभागमा हुँदा खरिदको टेण्डरको फाइल अघि बढाउन तथा परे पछि समेत पैसा माग्ने गरेको कुरा आम बनेको छ । उनीविरुद्ध विगतदेखि नै भ्रष्टाचार गरेको तथा त्यसका लागि मिलिभगत गरेको आरोप छ । त्यस कुराले समेत मन्त्रिपरिषदबाट उनको नाम निर्णय नहुनमा कारकको भूमिका खेलेको बताइन्छ । मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा म्याक्सिम इन्कर्पोरेशन प्रालिसँग सम्झौता गरे पनि सामानै प्राप्त नगरी १२ करोड ५५ लाख भ्रष्टाचार गरेको विषय अख्तियारको छानविनका क्रममा छ । सामानका बाक्सा ग्रहण गरेको भनिए पनि म्यामोग्राफी मेसिन नभै डमी बक्सा मात्र प्राप्त भएको एक आन्तरिक अध्ययनले देखाएको छ ।
मन्त्रीलाई काममा पुरै असहयोग
मन्त्री भएर आएदेखि नै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलका लोकप्रिय काममा मिश्राले असहयोग गरेकी थिइन् । अनुगमनको काम उनको भागमा पर्ने भए पनि मन्त्रीले गरेका निर्णयको प्रभावकारी कार्यान्वयनबारे अनुगमनमा उनी संलग्न भइनन् । एक पटक सिंहदरबार वैद्यखानाको अनुगमनमा मन्त्रीसँग बाध्यताले गएकी उनी पटक पटकको आग्रहमा समेत अनुगमनमा संंलग्न भइनन् । यसले स्वास्थ्य क्षेत्रमा सुधार गर्ने मन्त्री पौडेलको चाहनामा उनले पूरै असहयोग गरेको मन्त्रालयका जानकार कर्मचारीहरु बताउँछन् ।
मन्त्रीलाई मुछ्नुको रहस्य
स्वास्थ्य मन्त्रालयमा मधेशी तथा महिला सचिव भएको प्रशस्तै उदाहरण छन् । मन्त्री प्रदीप पौडेलले मधेशी मुलका काबिल अधिकृतहरुलाई प्रशस्तै जिम्मेवारी दिएका छन् । कोशी अस्पतालकी प्रमुख रिना झा मधेशी समुदायकै हुन् । अन्य नियुक्ति र महत्वपूर्ण अस्पतालमा समेत जिम्मेवारी दिइरहेका मन्त्री पौडेललाई आफू सचिव नबन्दा मधेशविरोधीको दाग लगाउन खोज्नुमा राजनीतिमा यसै चिजलाई भजाएर लाभ लिन खोज्ने उनको कुनियत देखिन्छ । विगतमा पनि मन्त्रिपरिषदबाट सिफारिसमध्येका एक जना सचिव बन्ने गरे पनि मिश्राले जस्तो मन्त्रीको राजीनामा कसैले मागेका थिएनन् । मन्त्रिपरिषदको सामूहिक र अझ प्रधानमन्त्रीको भूमिका रहने निर्णयमा मन्त्रीलाई मात्र मुछ्न खोज्नुमा भोली पद छाडेर मधेसी तथा पहाडीबीचको फाटो ल्याएर मधेसको राजनीतिबाट लाभ लिने नियत रहेको देखिन्छ । यसैकारण उनले मिडिया बोलाएर राजनीतिक लाभ लिने हिसाबले विवादास्पद अभिव्यक्ति दिएको जानकार बताउँछन् । उनका श्रीमान राकेश मिश्रा मधेशी राजनीति गर्छन् । श्रीमानकै आडमा राजनीतिक लाभ लिनका लागि उनले मिडियाबाजी गरिरहेको जानकार बताउँछन् ।
बिरामी र भुक्तभोगीहरुबाटै मिश्राको आलोचना
सामाजिक सञ्जालमा उनले दिएको अभिव्यक्तिको आलोचना भैरहेको छ । मधेशी समुदायका नेताहरुले उनले पद नपायो भन्दैमा समुदायविरुद्ध जोड्न नमिल्ने भन्दै आलोचना गरिरहेको छ । विगतमा विद्यार्थी राजनीतिदेखि र हालसम्म मधेससँग राम्रो सम्बन्ध रहेका मन्त्री पौडेलले गर्न खोजेका सुधार अघि बढाउन असहयोग गरेकी र ओझेलमा पार्न अहिले नचाहिने ठाउँमा मन्त्रीलई मुछ्न उनले भूमिका खेलेको भन्दै आलोचना भैरहेको छ । मधेशबाट राजनीति गर्ने तथा अन्य साधारणहरुले उनले अभिव्यक्ति दिएका समाचारहरुमा आलोचना गरिरहेका छन् । यसबाहेक डाक्टर हुँदा रुखो व्यवहार र बिरामीप्रति असंवेदनशील देखिएका घटनाका भुक्तभोगीहरुले उनलाई सचिव नबनाउने निर्णय सही भएको भन्दै उल्टै उनको आलोचना गरिरहेका छन् ।