ग्यासको कमिसन बढाउने सहमति गरेकोमा उपभोक्ता मञ्च नेपालको गम्भिर ध्यानाकर्षण

काठमाडौं । आान्दोलरत ग्यास उद्योगी र सरकारबीच भएको पाँचबुँदे सहमतिप्रति उपभोक्ता मञ्च नेपालले ध्यानाकर्षण भएको जनाएकाे छ ।
मंगलबार वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीलगायतको बैठकमा सहमति जुटेसँगै ग्यास उद्योगीको आन्दोलन स्थगित भएको छ । तर, मन्त्रालयले एलपी ग्यास उद्योगका पदाधिकारीहरूसँग ‘गलेर’ ग्यासको कमिसन बढाउने सहमति गरेको भन्दै उपभोक्ता मञ्च नेपालले आपत्ति जनाएको हो ।
मंगलबार भएको नयाँ सहमति अनुसार अब उद्योगीले एक सिलिन्डर ग्यास बजार पठाउँदा कमिसन बापत थप १२ रुपैयाँ ७५ पैसा जोडेर लगभग ४६ रुपैयाँ पाउनेछन् । उपभोक्ताले ग्यास खरिद गर्दा अहिले तिर्नु परिरहेको प्रतिसिलिन्डर एक हजार ९१० रुपैयाँमा भने तत्कालका लागि केही हेरफेर नहुने भएतापनि भविष्यमा भने अहिले बढेको कमिसनलाई अन्ततः सरकारले उपभोक्ताकै टाउकोमा थोपर्ने अनुमान सहजै लगाउन सकिने उपभोक्ता मञ्च नेपालका प्रवक्ता उज्ज्वल राज गौतमद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।
उपभोक्ता मञ्च नेपालले यो कमिसन वृद्धिको निर्णय तत्कालै फिर्ता लिन र उपभोक्ताको हकहित संरक्षण गर्ने तथा आम नागरिकलाई सहुलियत दिने सवालमा सरकार गम्भिर बन्न जोड्दार माग गरेको छ ।
माघ २४ गते ग्यास उद्योग संघले पेश गरेका १९ बुँदे ज्ञापनपत्रका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकमा सहमति जुटेको थियो । ओभरहेड र नाफा रकम वृद्धिलगायत १९ बुँदे माग राखेर नेपाल एलपी ग्यास उद्योग संघले आइतबारदेखि भारतबाट ग्यास ल्याउने प्रोडक्ट डेलिभरी खरिद बन्द गरेर आन्दोलन सुरु गरेको थियो । उक्त सहमतिसँगै प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा मूल्य बढ्ने नेपाल एलपी ग्यास उत्पादक संघका वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठले दाबी गर्नुभएको छ । तर, नेपाल आयल निगमले भने ग्यासको उपभोक्ता मूल्य नबढ्ने जनाउँदै आएको छ ।