नेपालका विद्यार्थीहरूले गरे क्याम्ब्रिज इन्टरनेशनल लेभलको परीक्षामा उत्कृष्ट प्रदर्शन

काठमाडौं । क्याम्ब्रिज अन्तर्राष्ट्रिय एएस र ए लेभल परीक्षामा ४८ भन्दा बढी नेपाली विद्यार्थीहरूले असाधारण प्रदर्शन गर्दै उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कार जितेका छन्। नोभेम्बर २०२३ र जुन २०२४ को परीक्षा श्रृंखलामा यी विद्यार्थीहरूले प्राप्त गरेको सफलता राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गौरवको विषय बनेको छ।
दुई जना विद्यार्थीहरूले विश्वमै उच्चतम अंक प्राप्त गरे भने ३९ विद्यार्थीहरूले नेपालभर एउटै विषयमा शीर्ष स्थान कायम गरेका छन्। साथै, क्रमशः नोभेम्बर २०२३ र जुन २०२४ परीक्षामा १८ र २१ विद्यार्थीहरूले देशभर पहिलो स्थान प्राप्त गरेका छन्।
क्याम्ब्रिज शिक्षा समूहका वरिष्ठ उपाध्यक्ष विनय शर्माले नेपालका विद्यार्थीहरूको उपलब्धिप्रति गर्व व्यक्त गर्दै, विद्यार्थीहरूको कठिन परिश्रम, सीप र शिक्षण संस्थाहरूको योगदानले यो सफलता सम्भव भएको छ, भने। ब्रिटिश काउन्सिलका नेपालका परीक्षा निर्देशक प्रतिष्ठा थापा रायमाझीले पनि विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै, ‘उच्च शिक्षा र भविष्यका अवसरहरूमा सफलता हासिल गर्न यी उपलब्धिहरू महत्वपूर्ण साबित भएका छन्, भने ।
नेपालका २० भन्दा बढी विद्यालयहरूबाट प्रतिनिधित्व गर्ने पुरस्कार विजेताहरूले ‘नेपालमा उत्कृष्टता’, ‘बेस्ट अक्रस’, ‘हाई अचिभमेन्ट’ र ‘टप इन द वर्ल्ड’ लगायतका विभिन्न श्रेणीहरूमा आफ्नो दक्षता प्रदर्शन गरेका छन्। यस उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको शैक्षिक मापदण्डलाई पुष्टि गरेको छ र उज्ज्वल भविष्यका संकेतहरू प्रस्तुत गरेको छ।