वाणिज्य बैंक र सिञ्जा गाउँपालिकाबीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र जुम्लाको सिञ्जा गाउँपालिकाबीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर धितालले एक कार्यक्रमका बिच सोमबार हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानुनी रूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले गाउँपालिकाको सिफारिस सहित कर्जाको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालु पुँजी दुवै प्रकृतिको हुने बैंकले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ भने बढीमा १० लाख रुपैयाँसम्म प्रदान गरिने छ । यस्तै किसान सरल कर्जामा आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने बैंकको भनाइ छ ।
कार्यक्रममा सिंजा गाउँपालिकाका २ का वडाध्यक्ष तिर्थ वड, बैंकका कृषि तथा सामाजिक बैंकिङ विभागका विभागीय प्रमुख अच्युत गौतम लगायत कर्मचारी लगायत सहभागी थिए । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ ।