नेपाल लाइफको ‘छुट्ला है छुट’ योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘छुट्ला है, छुट’ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत १८० दिन भन्दा माथि व्यतित भएका बीमालेखहरुको नविकरण भुक्तानी गर्दा विलम्ब शुल्कको ५० प्रतिशतसम्म छुट पाइने छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी २५ औँ वर्षमा प्रवेशको अवसरमा यो योजना सार्वजनिक गरिएको बताए । उनले भने, ‘बीमितहरूको हितलाई मध्यनजर गर्दै यो विशेष योजना एक पटकको लागि सार्वजनिक गरिएको हो ।’
व्यतित भएका बीमालेखहरु समयमा नै नवीकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह उनले गरे । साथसाथै बीमालेखलाई निरन्तरता प्रदान गर्दै जोखिम हस्तान्तरण गरी ढुक्कका साथ जीवनयापन गर्न बीमितहरुलाई अनुरोध गरेको उनले बताए ।
यो योजना फागुन १५ देखि जेठ १३ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।