नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ४०औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड ४०औं वर्षमा प्रवेश गरेको छ ।
३९औं वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले बैंकप्रति निरन्तर सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले बैंकले प्रदान गर्दै आएका वित्तीय सेवालाई अझ प्रभावकारी बनाउन आधुनिक प्रविधि अपनाइएको बताए । सीईओ पाण्डेले डिजिटल बैंकिङ सेवालाई थप सशक्त पार्ने प्रतिबद्धता समेत जनाए ।
‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले ग्राहकको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवाहरु प्रस्तुत गरिरहने उनले बताए ।
बैंकले वार्षिकोत्सवको अवसरमा विगत ७ वर्षदेखि वित्तीय साक्षारतामा आधारित चित्र पुस्तक प्रकाशन गर्दै आएको छ ।
यो पटक सातौं संस्करण ‘डिजिटल बैंकिङको जादु” नामक चित्र पुस्तक सार्वजनिक गरिएको बैंकले जनाएको छ । चित्रकथामा बालबालिकालाई बैंकिङ प्रणाली तथा यसको प्रभावकारी प्रयोगबारे सचेत गराउन र अभिभावकलाई आधुनिक डिजिटल बैंकिङ सेवाको प्रयोग गर्न प्रेरित गराउनु रहेको बैंकको भनाइ छ ।
वार्षिकोत्सवमा बैंकले ग्राहकका लागि नयाँ बचत खाता ‘नव आयाम बचत खाता’ ल्याएको छ । ३९ रुपैयाँ मौज्दातमै यो खाता खोल्न सकिने छ । यसैगरी एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) सुविधा, भर्चुअल प्रिपेड कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड सुविधा ३९ रुपैयाँमै उपलब्ध हुने बैंकले जनाएको छ । साथै लकर सुविधामा ३९ प्रतिशत छुट पाउने छन् ।