५० लाख डलर तिरेर अमेरिकाको नागरिकता पाउने गरी ‘गोल्ड कार्ड’ बिक्री गर्दै ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अमेरिकाले धनी विदेशीहरुलाई ‘गोल्ड कार्ड’ बिक्री गर्ने बताएका छन् । उनीहरुले ५० लाख शुल्क तिरेर गोल्ड कार्ड लिनसक्ने र उक्त कार्डले अमेरिकामा बस्न र काम गर्ने अधिकार दिनुका साथै अमेरिकी नागरिकताको बाटो पनि खुला गर्ने सीएनएनले लेखेको छ ।
गोल्ड कार्डले ग्रिन कार्डको जस्तै विशेषाधिकार दिनुका साथै यो अमेरिकी नागरिकताको बाटो पनि हुने ट्रम्पले बताएका छन् । गोल्ड कार्ड खरिद गरेर धनी मानिसहरु अमेरिकामा आउने ट्रम्पको भनाई छ । गोल्ड कार्डको बिक्री लगभग २ हप्ताभित्रमा सुरु हुने र लाखौं यस्ता कार्डहरू बेच्न सकिने पनि ट्रम्पले बताएका छन् ।
गोल्ड कार्डले सरकारको ‘इबी फाइभ’ आप्रवासी लगानीकर्ता भिसा कार्यक्रमलाई प्रतिस्थापन गर्नेछ ट्रम्प प्रशासनका वाणिज्य सचिव हावर्ड लुटनिकले बताएका छन् । इबी फाइभ भिसाले विदेशी लगानीकर्ताहरुलाई रोजगारी सिर्जना गर्ने अमेरिकी परियोजनाहरुमा पैसा लगानी गर्न र त्यसपछि अमेरिकामा बसोबास गर्न भिसाको लागि आवेदन दिने अनुमति प्रदान गर्दै आएको छ । गोल्ड कार्डले उक्त भिसालाई प्रतिस्थापन गर्ने भएको हो ।