अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र म्यानमार खेल्दै

काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार खेल्दै छन् ।
खेल साँझ ६ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । बिदाको दिन परेकाले फाइनल हेर्न ठुलो संख्यामा दर्शकको उपस्थिति हुने अनुमान छ ।
चार राष्ट्र सम्मिलित प्रतियोगितामा दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दुवैले लेबनान र कीर्गिस्तानलाई हराउँदा एकअर्कासँग बराबरी खेलेका थिए ।
नेपाली टोलीले समग्रमा १३औं पटक कुनैपनि प्रतियोगिताको फाइनल खेल्दै छ । हालसम्म खेलेका १२ फाइनलमा नेपाल जित निकाल्न असफल हुँदै आइरहेको छ ।
सधैं फाइनल पुगेर पराजित भएपछि नेपाली महिला टोलीलाई फाइनलमा हार्ने टोलीको ट्याग नै लागेको छ । त्यो ट्यागलाई हटाउने अवसर नेपालसामु आएको छ तर त्यसका लागि नेपालले वरियतामा आफू भन्दा ४८ स्थान माथि रहेको टिम म्यानमारलाई पहिलो पटक हराउनुपर्ने हुन्छ ।
नेपाल र म्यानमारबीच हालसम्म भएका ५ खेलमा नेपाल जितविहीन छ । ३ खेल म्यानमारले जित्दा २ खेल बराबरीमा सकिएको छ ।