दुबईमा मधेशी एकता समाजको होली उत्सव र अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालका प्रवासी मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा यस वर्षको होली पर्व मनाएको छ ।
एकता समाजको युएई शाखाले आइतबार दुबईको बरदुबईमा धुमधाम एवं भव्यताका साथ होली महोत्सव मनाएको हो । पूर्व उपप्रधानमन्त्री एवं जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख अतिथिको रुपमा होली कार्यक्रमको गरिमा बढाउनुभएको थियो । कार्यक्रममा मधेशी समुदायका ७ सय जनाभन्दा बढी मानिस सहभागी थिए । त्यस अवसरमा उनीहरुले एकअर्कालाई रंग र अबिर दलेर होलीको शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा आबुधाबीस्थित नेपाली दूतावासका राजदूत तेज बहादुर क्षेत्री, मधेशी एकता समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय समिति अध्यक्ष डा. रविन्द्र कुमार यादव, दूतावासका तृतीय सचिव विमलेश मिश्र, श्रम सहचारी पंकज लाभ कर्ण, मधेशी एकता समाज नेपालका संयोजक डा. बबीसिंह यादव, अन्तर्राष्ट्रिय समितिका महासचिव मुकेश झा, एनआरएनए यूएईका महासचिव भुवन कुमार वाग्ले, नेपाल जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष लक्ष्मण खनाल, नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष मेघराज सापकोटालगायतको उपस्थिति थियो ।
समाजका महासचिव सुरेश यादव र सहअध्यक्ष एवं प्रवक्ता शैलेन्द्र रायले उद्घाटन समारोहको सञ्चालन गरेका थिए । यस्तै सांस्कृतिक कार्यक्रमको सञ्चालन भोला पासवान र मनोज परदेशीले गरेका थिए ।
त्यस अवसरमा सांस्कृतिक कार्यक्रम, नाचगान, होली गीत, जोगिरा गायन र विभिन्न परिकारका खानेकुराको व्यवस्था गरिएको थियो । नेपालबाट गएका चर्चित कलाकार रविराज साह र शोभा पासवानले आफ्नो प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । स्थानीय कलाकार भोला पासवान, ईशा, अनाया, भिरु यादव, स्लोन्ली एन्जल र नेपाली बोइज ग्रुपले पनि आकर्षक प्रस्तुति दिएका थिए ।
त्यही अवसरमा वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका दर्जनौं नेपाली कालाकारले आफ्ना सांस्कृतिक प्रस्तुति दिएका थिए ।
उद्घाटन सत्रमा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, राजदुत तेजबहादुर क्षेत्री र डा. रविन्द्र कुमार यादवले आफ्नो मन्तव्य राखेका थिए ।
समारोहमा यूएईमा भूउपग्रहको सफ्टवेयर डिजाइन गर्ने मुकेश झा, मिसाइल डिजाइनमा कार्यरत इन्जिनियर दीपक कुमार यादव, दुबईमा कारखाना स्थापना गर्ने पहिलो नेपाली मधेशी विनेश यादव र अन्य मधेशी उद्यमी गणेश पूर्वे र जीवछ साहलाई सम्मान गरिएको थियो ।
नेपालमा होली पर्व मार्च १४ मा मनाइने भएपनि रमजानको पवित्र महिना फरवरी २८ देखि मार्च ३० सम्म चल्ने भएकाले दुबईमा होली समारोह रमजानअगावै अर्थात् फरवरी २३ तारिखमा आयोजना गरिएको हो ।
यसअघि मधेश एकता समाज यूएईले दुबईको अल खैल मलस्थित सयपत्री रेस्टुरेन्टमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख अतिथिको रूपमा आफ्ना धारणाहरु राख्नुभएको थियो ।
पूर्वउपप्रधानमन्त्री यादवले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि नीतिगत सुधारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रवासी नेपालीहरूले नेपालको विकासमा गरेको योगदानबारे चर्चा गर्दै नेता यादवले प्रवासी नेपाली कामदारका समस्या समाधान गर्न नेपाल सरकार र अधिकारीहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले नेपाल सरकार ठूलो ऋणमा रहेको, वर्तमान अर्थतन्त्र रेमिट्यान्समा आधारित रहेको तर सरकारले रेमिट्यान्स पठाउनेहरूप्रति न्याय नगरेको धारणा राख्नुभयो ।
आफ्नो नेतृत्वमा भएको मधेश आन्दोलनको स्मरण गर्दै यादवले त्यसबेला सबै मधेशी एकजुट भएको र त्यसकै परिणामस्वरूप नेपालमा अहिलेको राजनीतिक व्यवस्था आएको धारणा राख्नुभयो ।
यादवले मधेशमा शिक्षा, स्वास्थ्य, रोजगारी र व्यवसायको अवस्थाबारे चर्चा गर्दै सुधारका लागि पहल भइरहेको र अझै गर्नुपर्ने कामहरू धेरै बाँकी रहेको उल्लेख गर्नुभयो ।
मधेशमा तीनवटा विश्वविद्यालयमध्ये एउटा मात्र सञ्चालनमा रहेको जानकारी दिँदै उहाँले आफू परराष्ट्रमन्त्री हुँदा कतारमा श्रमिकहरूले भोगेका समस्याहरूको प्रत्यक्षदर्शी भएको र मध्यपूर्वका देशहरूमा रहेका नेपाली मधेशीहरूको पीडाबारे जानकार रहेको बताउनुभयो । यी समस्याहरूको समाधानका लागि आफू सधैं तत्पर रहने उहाँले प्रतिबद्धता दोहो¥याउनुभयो ।
कार्यक्रमको प्रारम्भ गर्दै मधेशी एकता समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय समिति अध्यक्ष डा. रविन्द्र कुमार यादवले संस्थाको उद्देश्य, हालसम्मका उपलब्धिहरू र आगामी योजनाहरूबारे जानकारी गराउनुभयो ।
विश्वभर छरिएका मधेशी समुदायका अधिकार र विकासका लागि तथा नेपाली प्रवासीहरूका श्रम अधिकार, शिक्षा, स्वास्थ्य र नीतिगत सुधारका लागि कार्य गर्ने प्रतिबद्धता डा. यादवले व्यक्त गर्नुभयो ।
त्यस अवसरमा मधेशी एकता समाजको नेपाल च्याप्टरकी संयोजक डा. बबिसिंह यादवले पनि आफ्नो धारणा राख्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा २ सय जनाभन्दा बढी श्रमिक, प्रोफेसनल र मधेशी समुदायका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता थियो ।