चलचित्रले सकारात्मक सन्देश दिनुपर्छ: मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले चलचित्रले सकारात्मक सन्देश दिनुपर्ने बताएका छन् । नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्बोधन गर्दै मन्त्री पाण्डेले सो कुरा बताएका हुन ।
मानिसलाई कन्भिन्स गर्न सक्ने अद्भुत माध्यम चलचित्र भएको उल्लेख गर्दै उनले थपे, “दुनियाले सत्यको जित चाहिरहेको छ र चलचित्रमार्फत समाजलाई ठूलो प्रभाव पार्न सकिन्छ।”
उनले पाको पुस्ताले नै निराशाको व्यापार गरिरहेको भन्दै नयाँ पुस्तालाई आशा र सकारात्मकताको सन्देश दिनुपर्नेमा मन्त्री पाण्डेले जोड दिएका छन् ।
उनले भने, “अहिले पाको पुस्ताले नै निराशाको व्यापार गर्न थालेको छ। यस्तो अवस्थामा नयाँ पुस्तालाई हामीले के सिकाउने? हामीले आशा सञ्चार गर्नुपर्छ ।”
मन्त्री पाण्डेले चलचित्र र कलाले भाषा नबुझेर पनि भाव बुझ्न सक्ने क्षमताको चर्चा गरे । उनले भने, “कला कलाको कुनै भाषा हुँदैन। भाषा नबुझेर पनि भावनाहरू महसुस गर्न सकिन्छ। यही कारण चलचित्र र कलाले समाजलाई सकारात्मक दिशातर्फ डोहो¥याउन सक्छ।”
समारोहमा गीतसंगीत र नाटक समेत प्रस्तुत गरिएको उल्लेख गर्दै उनले कर्णालीको परिवेशमा आधारित नाटकको सम्झना गर्नुभयो। पाण्डेले नयाँ पुस्तालाई आशावादी बनाउनुपर्नेमा जोड दिए ।
उनले नेपाली चलचित्र उद्योगमा गुणात्मक सुधार आएको बताउँदै नेपालमा अर्बौं कमाइ गर्न सक्ने चलचित्र बनाउन सकिने सम्भावना रहेको बताए । “अर्ब कमाउन सक्ने दर्जनौं चलचित्र बनाउन सकिन्छ । यसले देशको अर्थतन्त्रलाई बलियो बनाउन योगदान गर्छ,” मन्त्री पाण्डेले भने ।
नेपाललाई खुला संग्रहालयको संज्ञा दिँदै उहाँले नेपालका बस्ती, हिमाल र समुदायमा विदेशी चलचित्र निर्माणका सम्भावनाहरूलाई सदुपयोग गर्नुपर्ने उल्लेख गरे । “नेपालको विविधतापूर्ण संस्कृतिलाई प्रवद्र्धन गर्दै विदेशी चलचित्रलाई नेपालमा छायांकन गर्न प्रोत्साहित गर्नुपर्छ,” उनको भनाइ थियो।
मन्त्री पाण्डेले पर्यटन प्रवद्र्धनमा चलचित्रको भूमिका महत्वपूर्ण हुने पनि उल्लेख गरे । “चलचित्रमार्फत नेपालका प्राकृतिक सौन्दर्य, संस्कृति र सम्पदालाई विश्वभर चिनाउन सकिन्छ,” उनले भने । साथै, उनले नेपाल सरकार चलचित्र निर्माणमा आवश्यक पर्ने नीति तथा पूर्वाधार विकास गर्न तयार रहेको समेत बताए ।
समारोहमा विभिन्न देशका फिल्म निर्माता, कलाकार तथा कलाप्रेमीहरूको सहभागिता रहेको थियो। महोत्सवले नेपाल र अफ्रिकी देशहरूबीच सांस्कृतिक आदानप्रदानलाई थप प्रगाढ बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ।