गुटउपगुटले आफ्नाे स्वार्थअनुसार पार्टीलाई अगाडि बढाउन खाेज्दा समस्या देखियाे: नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टीको विधान र नेपालको संविधानमा भएको प्राजधानअनुसार सबैलाई मिलाएर गरिने बताएका छन् ।
शनिबार नेपाली कांग्रेस धनुषाले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले महाधिवेशनबारे धारणा राखेका हुन । कांग्रेस राजनीतिक पार्टी भएकाले पार्टीभित्र सबैको समेटेर अघि बढ्नुपर्नेमा जोड दिए ।
’विधि नियमअनुसार परिस्थिति हेरेर पार्टीको महाधिवेशन हुने हो । बहुदलीय व्यवस्था पुनःस्थापन भएदेखि नै ४ वर्षमा कहिल्यै महाधिशेन भएकै छैन । कांग्रेस राजनीतिक पार्टी हो । पार्टीको विधान, देशको संविधानको प्रावधानअनुसार सबैलाई मिलाएर महाधिवेशन हुने हो,झ कांग्रेस पूर्वमहामन्त्री सिंहले भने ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री समेत रहेका सिंहले कांग्रेसमा आन्तरिक व्यवस्थापन हुन नसक्दा बलियो भएर पनि पार्टी कमजोरजस्तो देखिएको बताए । ’ कांग्रेस बलियो छ । आन्तरिक व्यवस्थापन गर्न नसक्दा हामी कमजोर भईरहेका छौं ,झ उनले भने, समस्या पत्ता लगाइसकेपछि समाधान कसले गर्छ ? हामीले गर्ने हो । पार्टीलाई व्यवस्थित गर्ने, सबैलाई स्थान दिनेगरि पार्टी संगठनलाई अघि बढाऊँ ।
कांग्रेस पार्टीलाई केन्द्रमा राखेर सोचे पार्टीभित्र वृहत्तर एकता कायम हुने भन्दै अहिले कांग्रेसलाई साइडलाईनमा राखेर आफ्ना गुटहरू, उपगुटहरूलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्ति देखापरेकोमा चिन्ता व्यक्त गरे । उनले पार्टीभित्रका मनमुटाव समयमै व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि पार्टीकै नेता कार्यकर्ता सक्रिय हुनुपर्ने बताए । पार्टीको नीति सिद्धान्तलाई केन्द्रमा राखे पार्टीभित्रको विभाजित मानसिकताको अन्त्य हुने सिंहको भनाई थियो ।
उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको भन्दै यसलाई सुदृढ र संस्थागत गर्नुपर्नेमा जोड दिए । आम नागरिकलाई अधिकारसम्पन्न बनाउन जनचाहना अनुसारनै अहिलेको सरकारले काम गरिरहेको पनि उनले बताए । राजनीतिक स्थीरताको जगमा विकास र समृद्धिका लागि सरकारले काम गरिरहेको सिंहले प्रष्ट पारे ।
कार्यक्रममा कांग्रेस प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, आनन्दप्रसाद ढुँगाना, गुरु बराल पनि सहभागी थिए ।