छैठौँ ‘सर्फी लिडर्स राउण्डटेबल’ काठमाडौंमा सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा ‘साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटीभ’ (सर्फी)को छैठौं लिडरसीप राउण्डटेबल बैठक काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकमा सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर डा। पी। नन्दलाल वीरासिंघे, बङ्गलादेश बैंकका डेपुटी गभर्नर डा. मोहम्मद हबिबुर रहमान, माल्दिभ्स मनिटरी अथोरिटीका डेपुटी गभर्नर इमाद अहमद, सेन्ट्रल बैंक अफ पाकिस्तानका कार्यकारी निर्देशक स्येद समर हुस्नैन, बङ्गलादेशको अर्थ मन्त्रालयका सहसचिव कमरुल हक मारूफको उपस्थिति रहेको थियो ।
बैठकको लिडर्स राउण्डटेबल सत्रमा स्वागत मन्तव्य राख्दै गभर्नर अधिकारीले दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणको लक्षित उद्देश्य प्राप्तिका निम्ति सर्फीको गतिविधिलाई परिणाममुखी बनाउनुपर्ने आवश्यकता औंल्याए । त्यसको लागि क्षेत्रीय सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने उनको धारणा थियो ।
सर्फीमार्फत क्षेत्रीय सहकार्य र समन्वयलाई सुदृढ गर्दै आगामी पाँच वर्षका निम्ति दिगो, समावेशी र नवप्रवर्तनात्मक वित्तीय सेवाको प्रारूप तयार गर्ने विषयका एजेन्डालाई बैठकमा प्राथमिकता दिइएको थियो । त्यस क्रममा सर्फीका सदस्य संस्थाका तर्फबाट सर्फी चार्टर संशोधन, सर्फी अन्तर्गतको एक्सपर्ट ग्रुप अन फाइनान्सियल इन्क्लुजन पोलिसी (ईजीएफआइपी) को कार्यका सर्त लगायतका विषयमा अवधारणा प्रस्तुत गरिएको थियो ।
उक्त अवधारणाउपर सर्फीको सदस्य संस्थाका प्रमुखरप्रतिनिधिको तर्फबाट विभिन्न धारणा राखिएको थियो । बैठकले सर्फी मार्फत सन् २०२५ मा सञ्चालन हुने वार्षिक कार्ययोजनालाई पनि स्वीकृत गरेको छ ।
बैठकको पहिलो सत्रमा सदस्य संस्थाका सबै सहभागीको तर्फबाट आ–आफ्नो मुलुकमा वित्तीय समावेशीकरणको विद्यमान स्थिति र दक्षिण एसियामा वित्तीय समावेशीकरणको प्रवर्द्धनका लागि सर्फीमार्फत अवलम्बन गर्नुपर्ने भावी दृष्टिकोण प्रस्तुत गरिएको थियो ।
सो अवसरमा गभर्नर अधिकारीले वित्तीय समावेशीकरणको प्रवर्द्धनमा नेपाल राष्ट्र बैंकले गरेका प्रयासबारे उल्लेख गर्दै नेपालले वित्तीय पहुँच र विद्युतीय भुक्तानीको प्रयोगमा उल्लेख्य फड्को मारेको दाबी गरे । दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणलाई सुदृढ बनाउनका निम्ति वित्तीय सेवाको डिजिटलाइजेसन, ग्राहक संरक्षण, डिजिटल वित्तीय साक्षरता र साना तथा मझौला उद्यममा वित्तीय सेवा विस्तारमा जोड दिन उनले आह्वान गरे ।
श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर डा. पी. नन्दलाल वीरासिंघेले श्रीलङ्काको वित्तीय समावेशीकरणको स्थितिबारे प्रकाश पार्दै दक्षिण एसियामा वित्तीय पहुँच र वित्तीय सेवा विस्तारका निम्ति सर्फीमार्फत अवलम्बन गर्नुपर्ने भावी दृष्टिकोणबारे सुझाव प्रस्तुत गरेका छन् ।
उक्त सत्रमा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले स्वागत मन्तव्य राख्दै दक्षिण एसियामा वित्तीय सेवाको पहुँच विस्तारमा देखिएका चुनौतीलाई सम्बोधन गर्नका निम्ति सर्फी महत्वपूर्ण सञ्जाल रहेको धारणा राखे ।
सो अवसरमा अलायन्स फर फाइनान्सियल इन्क्लुजन (एएफआइ) का उप–प्रमुख कार्यकारी अधिकृत सी सु युइनले उद्घाटन मन्तव्य राखेका थिए । बैठकमा गभर्नर अधिकारी र सर्फीको उपाध्यक्ष संस्था स्टेट बैंक अफ पाकिस्तानका कार्यकारी निर्देशक हुस्नैनले समापन मन्तव्य राखेका थिए ।