नागरिक उडड्यन प्राधिकरण कर्मचारी युनियनको निर्वाचनमा ‘कुटनीतिक घम्साघम्सी’

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणको आधिकारिक कर्मचारी युनियनको निर्वाचनमा ‘कूटनीतिक घम्साघम्सी’ शुरु भएको छ ।
निर्वाचनको अन्तिम दिन बिहीवार नेपालगंजमा नियमित हुन लागेको उद्दार तथा अग्नि निवारण अभ्यासको लागि काठमाडौंबाट जान लागेको लोकतान्त्रिक कर्मचारी संघ निकटका दुर्ईजना प्रभावशाली कर्मचारीको बोर्डिङ्ग पास लिइरहेको अवस्थामा रोकिएका छन् ।
ती दुर्ई कर्मचारीले नेपालगंजको निर्वाचन प्रभावित पार्न सक्ने आशंकाले उनीहरूको प्रस्थानमा ‘ब्रेक’ लागेको समाचार स्रोतले दाबी गरेको छ । नेपालगंज जान लागेको समयमै ‘माथिबाटै’ प्रतिस्पर्धी कर्मचारी संगठनले रोक्न लगाएको आशंका स्रोतले गरेको छ ।
निर्वाचनमा निषेध पनि चल्न थालेपछि प्रतिस्पर्धा रोचक हुने बताइन्छ । कर्मचारी रोकिएको विषयलाई संकेत गर्दै प्राधिकरण उच्च स्रोतले आज एउटा राम्रै ‘कुटनीतिक घम्साघम्सी’ भएको बताएको छ ।
उक्त निर्वाचनमा पाँच वटा कर्मचारी संघ सङ्गठनहरू प्रतिस्पर्धामा रहेको र तीन संगठनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
निर्वाचनमा विभिन्न राजनीतिक दलमा आबद्ध कर्मचारीका छाता संगठनहरू चुनाबी मैदानमा उत्रिएका छन् । नेपाली काङग्रेस निकट लोकतान्त्रिक कर्मचारी संघ, नेकपा एमाले निकट कर्मचारी संगठन, माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन मुख्य प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा छन् । त्यसैगरी मधेश तराई कर्मचारी युनियन, कर्मचारी एकता मञ्च नामका मधेश केन्द्रीत दल निकट कर्मचारीहरू संगठनहरू पनि चुनावी मैदानमा उत्रिएका छन् ।
लोकतान्त्रिक कर्मचारी संघको नेतृत्व गणेशप्रसाद भुसालले गरिरहेका छन् भने कर्मचारी संगठनको नेतृत्व मीनप्रसाद खनाल र राष्ट्रिय कर्मचारी संगठनको नेतृत्व सुवास कोइरालाले गरेका छन् । त्यसैगरी मधेश तराई कर्मचारी युनियनको नेतृत्व अनिल गुप्ताले र कर्मचारी एकता मञ्चको तर्पmबाट रतन दासले नेतृत्व गरिरहेका छन् । देशभर रहेका ७ तह मुनिका ६१३ मतदाताले मतदान गर्ने भएका छन् ।
यसैबीच लुम्लिङटार, लुक्ला र जोमसोम गरी तीन ठाउँमा आजै निर्वाचन सम्पन्न भएको छ । जसमा लोकतान्त्रिक कर्मचारी संघ अगाडि रहेको लुम्लिङटारका एक मतदाताले बताए ।
नेपाल सरकारको श्रम तथा रोजगार कार्यालयले निर्वाचन गराउने उक्त निर्वाचन देशभरका सबैजसो मतदाताले निर्वाचनमा मतदान गर्ने विश्वास लिइएको छ ।
संस्थागत विकास, पेशागत र कर्मचारीको हकहितका सवालका विषयमा सबै कर्मचारी संगठनले आ–आफ्ना चुनावी एजेण्डालाई अघि सारेपनि चुनावी परिणाम निर्वाचन अघि नै लगभग पक्कापक्की जस्तै रहेको कर्मचारीबृतमा कुराकानी भइरहेको छ । विभिन्न विमानस्थलहरूमा गरिएको मतदातासँगको साक्षात्कारमा कुल मतदाताको ५० प्रतिशत मतदाता लोकतान्त्रिक कर्मचारी संघलाई नै मत दिने बताउँछन् ।
मतादाताहरूले लोकतान्त्रिक कर्मचारी संघकै नेतृत्वमा अदालती प्रक्रियामा गएको विषयलाई किनारा लगाएर आम कर्मचारीलाई बोनस खुवाउन सफल भएको कारण पनि मतदाताहरू सकरात्मक रहेको पाइयो । चुनौतीपूर्ण यो विषयलाई सबै कर्मचारीहरूले यसको नेतृत्व गर्ने लोकतान्त्रिक कर्मचारी संघका तत्कालिन अध्यक्षप्रति आभार व्यक्त गरेका थिए । त्यस्तै राष्ट्रिय सभाबाट समेत पास भइसकेको प्राधिकरण टुक्राउने विद्येयक रोक्ने कार्य, संस्थागत विकास तथा पेशागत हकहित र कर्मचारीको बृतिविकास जस्ता सवालमा व्यवस्थापनसँग कुनै प्रकारका संझौता नगरी पटक–पटक जोडदार माग उठाउँदै आएकाले पनि लोकतान्त्रिक कर्मचारी अलिक बढी लोकप्रिय रहेको मतदाताको भनाई छ ।