अबकाे कार्यभार राजनीति स्थिरताकाे जगमा आर्थिक क्रान्ति हाे : उपप्रधानमन्त्री सिंह

बर्दिया । उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अबको कार्यभार राजनीतिक स्थीरताबो जगमा आर्थिक क्रान्ति गर्नु रहेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेस बर्दिया जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री सिंहले ०७ सालको क्रान्ति कांग्रेसले गरेको चर्चा गर्दै ०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान पनि कांग्रेसकै नेतृत्वमै जारी भएको भन्दै अबको कार्यभार संविधानलाई संस्थागत गर्दै जनताको जीवन र जिविकोपार्जन सहज बनाउनु रहेको बताए । ’प्राप्त गरेको राजनीतिक अधिकारलाई सुरक्षित राखेर राजनीतिक स्थीरताको जगमा अब आर्थिक क्रान्ति गर्ने हो, उपप्रधानमन्त्री सिंहले भने । अहिलेको व्यवस्था लामो संघर्ष र बलिदानबाट प्राप्त भएको भन्दै अधिकारसँगै सबैले आआफ्नो जिम्मेवारी पूरा गरेर बलियो बनाउनुपर्नेमा पनि सिंहले जोड दिए ।
अग्रज नेताहरूले आफ्नो समयमा जेलजिवन, यातना, निरवासन र सहिद भएर दिएको अधिकार सुरक्षित गर्ने दायित्व अहिलेको नेतृत्वको काँधमा रहेको भन्दै उनले त्यसका लागि नेपाली कांग्रेसलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले आन्तरिक रूपमा लोकतन्त्रको अभ्यास गर्दा अग्रजहरूले सिकाएको राजनीतिक संस्कार आत्मसाथ गर्नुपर्ने सिंहको भनाई थियो ।
उनले पार्टी संगठनलाई सुदृढ बनाउनका लागि लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरे । ’तत्कालिन समयमा कांग्रेसले के गर्न सक्छ ? भन्थे । ०१७ सालमा गुमेको अधिकार लौहपुरूष गणेशमान सिंहको नेतृत्वमा भएको आन्दोलनपछि पुनःस्थापित भयो । जती जति बेला राष्ट्र संकटमा पर्छ कांग्रेसले नै नेतृत्वदायी भूमिका खेलेको छ, सिंहले भने ।