युक्रेन युद्ध अन्त्य गर्ने बाटो खोज्न रुस र अमेरिका सहमत

काठमाडौं । युक्रेन युद्ध अन्त्य गर्ने बाटो पहिल्याउन वार्ता टोलीहरु गठन गर्न रुस र संयुक्त राज्य अमेरिकाले मंगलबार सहमति जनाएका छन् । साउदी अरेबियाको रियादमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभसहितको टोलीबीच भएको छलफलले युक्रेन युद्ध सकेसम्म चाँडो अन्त्य गर्ने बाटोमा काम गर्न सहमति गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।
जसका लागि उच्चस्तरीय वार्ता टोलीहरु नियुक्त गर्न सहमति गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । वाशिंगटनले रुस र अमेरिकाको सम्बन्धका अवरोधहरुलाई सम्बोधन गर्न परामर्श संयन्त्र स्थापना गर्न पनि सहमति जनाएको जानकारी गराएको छ । दुवै पक्षहरुले भविश्यमा सहयोगको लागि आधार तयार पार्ने कुरामा पनि सहमति गरेका छन् ।
रियादमा भएको छलफलमा युक्रेन र युरोपेली मुलुकहरु भने समावेश भएका थिएनन् । यद्दपि, युरोपेली राष्ट्रहरुले कुनै विन्दुमा वार्ताको टेबलमा स्थान पाउने पनि अमेरिकी विदेश मन्त्रालयको भनाई छ । सन् २०२२ मा युद्ध सुरु भएपछि पहिलो पटक वासिङ्टन र मस्कोबीच उच्चस्तरीय आधिकारिक वार्ता भएको हो ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने चार घण्टाभन्दा बढी समयसम्म चलेको रियाद भेलाबाट आफ्नो देशलाई बहिष्कार गरिएकोमा आलोचना गरेका छन् । जेलेन्स्कीले युद्ध अन्त्य गर्ने उद्देश्यले हुने कुनै पनि वार्ता निष्पक्ष हुनुपने र वार्ता आयोजना गर्न प्रस्ताव गर्ने टर्कीसहित युरोपेली देशहरु समावेश हुनुपर्ने बताएका छन् ।