राष्ट्रिय निर्वाचन दिवसको अवसरमा प्रमुख निर्वाचन आयुक्तको शुभकामना सन्देश

काठमाडौं । लोकतान्त्रिक प्रक्रियाको अभिन्न पक्ष निर्वाचनको महत्त्वलाई उजागर गर्दै आज नवौं निर्वाचन दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। ‘निर्वाचनको प्रभावकारिता: आम नागरिकको सहभागिता’ भन्ने मूल नाराका साथ आयोजना गरिएका गतिविधिहरू लोकतान्त्रिक प्रणालीको सुदृढीकरणतर्फ एक महत्वपूर्ण कदम हाे।
यस ऐतिहासिक अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सम्पूर्ण नेपाली जनतालाई शुभकामना व्यक्त गर्दै निर्वाचनको मूल्य र महत्त्वको परिप्रेक्ष्यमा आम नागरिकको सक्रिय संलग्नता अपरिहार्य रहेको बताए। उनले निर्वाचन आयोगलाई निरन्तर हौसला प्रदान गर्ने अग्रज, शुभेच्छुक तथा मतदाताहरूको महत्त्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै लोकतान्त्रिक शासन प्रणालीलाई संस्थागत गर्न आयोग प्रतिबद्ध रहेको उल्लेख गरे।
संविधान जारी भएपछि सम्पन्न विभिन्न निर्वाचन प्रक्रियाहरूले जनप्रतिनिधि चयनमार्फत नागरिक अधिकारलाई थप सुनिश्चित बनाएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन स्वतन्त्र, निष्पक्ष र पारदर्शी हुनुपर्ने धारणा व्यक्त गरे। उनले निर्वाचन प्रक्रियामा पैसाको चलखेल, पदको लोभ वा कुनै पनि किसिमको प्रलोभनको असर पर्न नदिन आयोगले उच्च प्राथमिकता दिएको स्पष्ट पारे। साथै, जनप्रतिनिधिहरूले निष्ठा, विचार, सिद्धान्त र सदाचारलाई मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात् गर्नुपर्ने उनले बताए।
आम नागरिकको सहभागिता बढाउने उद्देश्यले आयोगले स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन विशेष रणनीति अवलम्बन गरेको उल्लेख गर्दै प्रमुख आयुक्त थपलियाले मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रियालाई अझ सरल, सहज र प्रविधिमैत्री बनाउन विभिन्न कार्यक्रम अघि बढाइने जानकारी दिए। साथै, राजनीतिक दल, नागरिक समाज, संचारमाध्यम तथा अन्य सरोकारवालासँग निरन्तर संवाद गर्दै लोकतान्त्रिक प्रक्रियालाई अझ सबल बनाउन आयोग प्रतिबद्ध रहेको उनले बताए।
यसै अवसरमा, प्रमुख निर्वाचन आयुक्त थपलियाले हालै सम्पन्न विभिन्न अन्तर्राष्ट्रिय निर्वाचन प्रक्रियाबाट सिकाइ तथा अनुभव सँगाल्दै नेपालको निर्वाचन व्यवस्थापनलाई थप पारदर्शी, विश्वसनीय र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने संकल्प दोहोर्याए। विशेष गरी सन् २०२४ लाई ‘विश्व निर्वाचन वर्ष’का रूपमा चिनिँदा नेपालले पनि आफ्ना निर्वाचन प्रणालीलाई समयानुकूल परिमार्जन गर्दै नागरिकमैत्री बनाउने दिशामा उल्लेखनीय प्रयास गरिरहेको उनले बताए।
अन्त्यमा, प्रमुख निर्वाचन आयुक्त थपलियाले नवौं निर्वाचन दिवसका अवसरमा आयोजना गरिएका कार्यक्रमहरूमा सहभागी सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचन व्यवस्थापनमा सक्रिय योगदान पुर्याउने कर्मचारी, सरोकारवाला निकाय तथा आम नागरिकलाई हार्दिक कृतज्ञता व्यक्त गरे।