‘राष्ट्रिय घर निर्माण महोत्सव’ १५ फागुनदेखि

काठमाडौं । स्किल सेवाले नेपालमा पहिलो पटक राष्ट्रिय घर निर्माण फेस्ट-२०८१ (महोत्सव) आयोजना गर्ने भएको छ ।
काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यान्क्वेटमा १५, १६ र १७ फागुनसम्म सञ्चालन हुने महोत्सवमा करिब पाँच हजारभन्दा बढीको सहभागीता हुने अपेक्षा आयोजक कम्पनीको रहेको छ ।
नयाँ घर निर्माणका लागि आवश्यक सम्पूर्ण सेवाहरू एउटै छत मुनि समेटेर प्रदान गर्ने उदेश्यका साथ महोत्सव आयोजना हुन लागेको आयोजकको भनाइ छ ।
महोत्सवमा निर्माण सम्बन्धी मापदण्ड तथा अत्याधुनिक प्रविधिबारे चर्चा हुने विश्वास आयोजक कम्पनीको छ ।
स्किल सेवाका अनुसार महोत्सवको प्रमुख उद्देश्य नागरिकलाई घर निर्माण सहजीकरणको एकीकृत प्लेटफर्म उपलब्ध गराउनु रहेको छ ।
महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी र इच्छुक जनसमुदायका प्रतिनिधिहरू सहभागी हुनेछन् जसमा विभिन्न निर्माण सम्बन्धित कम्पनीहरु र बैंकको स्टल पनि रहने कम्पनीले जनाएको छ ।
महोत्सवले आधुनिक विचार, प्राविधिक दक्षता र लगानीको उचित व्यवस्थापन मार्फत घर निर्माणका नवीनतम अवधारणाहरूलाई व्यवहारमा उतार्न सहयोग पुर्याउने अपेक्षा आयोजकको छ ।
कम्पनीका अनुसार कार्यक्रम मार्फत कम्पनीले घर निमार्ण गर्दा खर्च कम गर्ने उयायहरूको बारेमा बताउने छ जसमा कस्तो खालको सिमेन्ट, इटा, डन्डी, ग्लास, टाएल्स् प्रयोग गर्नेबारे पनि सिकाउने छ ।
साथै लेबर व्यवस्थापन, डिजाइन, रेक्ट्याङ्गगुलर निमार्ण योजना, निमार्ण अवधिदेखि फ्लोलिङ र समापनसम्मको स्टेप–बाइ–स्टेप जानकारी गराइने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा आधुनिक र पारम्परिक डिजाइन, खुला स्थानको सदुपयोग, ऊर्जा बचत तथा हावापासको उचित व्यवस्थापनका साथै गुणस्तरीय विचारहरूको प्रस्तुति हुने छन् ।
यसका अतिरिक्त, लगानी जुटाउने र साझेदारीका अवसरहरू समेत उजागर गरिने छन् जसले समग्र आवास निर्माण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा राखिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष रमेश तिमिल्सिनाले महोत्सवबाट लाभलिन सरोकार पक्षसँग आग्रह गरेका छन् ।
‘हरेक व्यक्तिका लागि आफ्नो घर जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो त्यसैले यस सम्पत्तिलाई भरपर्दो, सुरक्षित र दिगो बनाउनु अत्यावश्यक छ,’ उनले भने ।