बीमा प्राधिकरण अध्यक्षका लागि ५ जनाको संक्षिप्त सूची सार्वजनिक, फागुन १० गते अन्तर्वार्ता

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन दिएकाहरुमध्ये पाँच जना संक्षिप्त सूचीमा परेका छन् ।
अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम संक्षिप्त सूचीमा राखेर सार्वजनिक गरेको हो ।
सूचीमा पर्नेमध्ये रेग्मी बीमा प्राधिकरणमा निर्देशक छन् भने चापागाईं साविक बीमा समितिका पूर्वअध्यक्ष हुन्। बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक र पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन्। ओझा स्नातक तहमा व्यवस्थापनसम्बन्धी विषयको अध्यापन गर्छन् भने अधिवक्ता, वित्त परामर्शदाता र पूर्वपत्रकार पनि हुन्।
सूचीमा परेकाहरुलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि फागुन १० गते अर्थ मन्त्रालयमा डाकिएको छ। अन्तर्वार्ता दिउँसो २ बजेबाट सुरु हुनेछ।
व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तापछि समितिले ३ जनाको नाम मन्त्रिपरिषदसमक्ष सिफारिस गर्नेछ। तिनै ३ जनामध्ये एकजनालाई सरकारले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ।
समितिले गत पुस २६ गते सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो। माघ ११ गतेसम्म आवेदन खुला गरिएको थियो।