आगामी निर्वाचनबाट एमाले पहिलो शक्ति: भौतिक मन्त्री दाहाल

भक्तपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राजनीतिक वातावरण खल्वल्याउन खोज्नेहरुबाट होशियार हुन आवश्यक रहेको बताएका छन् ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य समेत रहनु भएका दाहालले अहिलेको बलियो र स्थिर सरकारले अस्थिरतालाई अन्त्य गर्दै देशलाई समृद्धी तर्फ लगि रहेको बताए । ‘देशमा स्थिरता आउने भयो भनेर अतालिएकाहरुले राजनीतिक वातावरण खल्वल्याउन खोज्लान््’ मन्त्री दाहालले भने, ‘तर त्यस्तालाई जनताले चिनि सकेका छन् अब पनि देशमा कसैले अस्थिरता निम्त्याउन खोज्छ भने त्यो सम्भव हुन सक्दैन ।’
नेकपा एमाले झापा काठमाडौ सम्पर्क मञ्चले शनिवार भक्तपुरको लिखानारायणमा आयोजना गरेको वनभोज कार्यक्रममा उनले आगामी निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्ति बनाउने गरि लाग्न समेत कार्यकर्ताहरुलाई आग्रह समेत गरे । एमाले पहिलो शक्ति भए मात्रै देशको समृद्धी यात्रा सहज हुने भन्दै उनले आगामी निर्वाचनबाट एमालेको बहुमत सहितको पहिलो सरकार बनाउनु पर्ने उल्लेख गरे । कार्यक्रममा एमाले सचेतक सुनिता बराल, संघीय सांसद लालप्रसाद साँवा, एमालेका अन्य नेता कार्यकता लगायतको उपस्थिति रहेको मञ्चका सचिव मनोज दाहालले जानकारी दिए ।
सम्पर्क मञ्चका अध्यक्ष ललित सुव्वाको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ संगीतकार टीका भण्डारीले आफ्ना सुमधुर गीत तथा कलाकार शिलाबोजूले प्रहसन प्रस्तुत् गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम एवम् खेलकुदका कार्यक्रमहरु समेत सम्पन्न भएको मञ्चका सचिव युवराज बस्नेतले जानकारी दिए ।