वरिष्ठ संगीतकर्मी प्रदिप भट्टराईको नयाँ गीत “उमेर ढल्केको“ सार्वजनिक
![Pradip bhattarai song cover Pradip bhattarai song cover](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Pradip-bhattarai-song-cover-1024x576-1280x720.jpeg)
काठमाडौं । नेपाली संगीत उद्योगका लोकप्रिय संगीतकर्मी प्रदिप भट्टराईले आफ्नो नयाँ गीत ‘उमेर ढल्केको’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
नेपाली संगीत क्षेत्रमा २५ वर्षभन्दा बढी योगदान दिइ सकेका उनको परिचय गायक, संगीतकार, गीतकार तथा संगीतकर्मीका रुपमा समेत स्थापित रहेको छ । तथापी, उनी आफैं भने आफूलाई पूर्वेली गायक तथा संगीतकर्मी भन्न रुचाउँछन् । उनले आफ्नो सांगीतिक यात्राको सुरुवात २५ बर्ष अघि मेलान्ज ब्याण्डमार्फत गरेका थिए ।
संगीतकर्मी भट्टराईले नेपाली संगीतमा आफ्नै मौलिक शब्द, संगीत र शैलीले छुट्टै पहिचान बनाएका छन् । भट्टराईले यसअघि पनि आफ्नै शब्द र संगीतमा दुई एल्बम सार्वजनिक गरिसकेका छन् । उनका सिर्जनाहरू नेपाली लोकशैलीदेखि आधुनिक संगीतसम्म विविध स्वाद समेट्ने खालका छन् ।
भट्टराईले नेपाली सांगीतिक यात्रामा विभिन्न कालजयी गीतहरू सिर्जना गर्दै आम संगीतप्रेमीको मन जित्न सफल भएका छन् । उनका गीतहरू प्रेम, जीवन र सामाजिक चेतनासँग जोडिएका विषयवस्तुहरुमा केन्द्रित हुने गर्छन् । थुप्रै प्रतिष्ठित गायकहरूले उनका सिर्जनालाई स्वर दिइसकेका छन् । यसले नेपाली संगीत उद्योगमा उनलाई बहुआयामिक स्रष्टाका रूपमा स्थापित गराएको छ ।
सार्वजनिक नयाँ गीतमा नेपाल आइडल सिजन २ का विजेता रवि ओडले स्वर दिएका छन् । रवि ओडले आफ्नो सुमधुर स्वर र फरक पहिचानले नेपाली संगीतमा छोटो समयमा नै अपार सफलता हासिल गरेका छन् । उनी लोकगीतदेखि आधुनिक पपसम्म सबै विधाका गीतहरूमा जमेका छन् ।
‘उमेर ढल्केको’मा उनले आफ्नो भावनात्मक प्रस्तुति मार्फत गीतलाई अझ बढी सजीव तुल्याएका छन् । गीतको भिडियोमा रबीको आवाज संगै उनको अभिनय, कलाकार जय किशन बस्नेत र बिना राउत तथा संगीतकार भट्टराई स्वयम् लगायत कलाकारको रमाइलो अभिनय रहेको छ ।
काठमाडौंको एक होटलमा आयोजित विशेष समारोहमा प्रमुख मिडिया हाउसका प्रतिनिधिहरूको उपस्थितिमा गीत सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो नयाँ सिर्जनाबारे उत्साह व्यक्त गर्दै यस गीतले समयसँगै परिवर्तन हुने जीवनका भोगाइहरू चित्रण गरेको बताए ।
गीतको भिडियो नेपाल आइडलका सिजन २ का विजेता रवि ओडको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।