३६ स्थानमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ् (पेलिकन) प्रणाली जडान
![Clipboard05 Clipboard05](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Clipboard05-2-1024x525-1138x583.jpg)
काठमाडौँ महानगरपालिका ३३ वटा सामुदायिक र निजी विद्यालय र ३ वटा अस्पतालमा गरी ३६ वटा क्षेत्रमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ् (पेलिकन) प्रणाली जडान गरिएको छ । यो, पेडेष्ट्रियन क्रसिङ्तिर हरियो र सवारी गुड्नेतर्फको सडकमा रातो बत्ती बालेर पैदल यात्रीले सडक पार गर्ने प्रणाली हो । यो प्रणालीलाई पहिले बबरमहलमा परीक्षण गरिएको थियो । यसबाट सकारात्मक नतिजा प्राप्त भएपछि ३६ स्थानमा राख्ने योजना बनेको हो ।
यसबाट पैदल यात्रा सुरक्षामा नयाँ आयाम थपिएको हाम्रो बुझाई छ । पैदलयात्रीले स्विच थिचेपछिको कम्तीमा ६० सेकेन्ड पछि पेडेष्ट्रियन क्रसिङ् तर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ । एक पटक थिचेपछि सडकको चौडाइ र पैदल यात्रीको चाप अनुसार ८ देखि २० सेकेन्ड हरियो बत्ती बल्छ जुन विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गाइडलाइनबाट गाइडेड छ। पहिलो पैदल यात्रीको हरियो बत्ती बलेको अवधि सकिएपछिको पुन १ देखि २ मिनेटमा मात्र पैदलयात्रीले अर्को पटकको लागि क्रस गर्न सक्छन् । अर्थात्, १ देखि २ मिनेटपछि मात्र पेडेष्ट्रियन क्रसिङ् तर्फ फेरि हरियो बत्ती बाल्न सकिन्छ ।
पेलिकनको २ वटा उद्देश्य छन् । एउटा, बालिबालिकालाई र अस्पतालमा आवतजावत गर्ने बिरामीलाई सडक सुरक्षा प्रदान गर्न सकियोस् । अर्को, भविष्यका सडक प्रयोगकर्ता (बालबालिका) लाई सडक सुरक्षाका विषयमा व्यवहारिक ज्ञान दिन सकियोस् ।
महानगरको प्राविधिक समूहले ट्राफिक प्रहरीबाट प्राप्त ५ बर्से तथ्याङ्कमा यी ३६ क्षेत्रमा पैदल यात्रीको ठुलो चाप छ र दुर्घटना जोखिम देखिएको थियो । यस कारण पटक पटक पैदल यात्रीहरू दुर्घटनामा पर्ने गरेका थिए । प्रणाली जडान भएपछि पैदल यात्रीहरूले सवारी साधन रोकिएको यकिन भएपछि मात्र सडक पार गर्ने अवसर पाउन भन्ने पनि हो ।
हतार गरी सवारी साधन कहिल्यै नचलाऔँ र हतारमा सडक पार समेत नगरौँ, घरमा तपाइलाई तपाइको परिवारले पर्खिराखेका छन् ।