लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच सम्झौता, यात्रुहरुले केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने
काठमाडौं । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता बमोजिम पश्चिम नेपाल बस व्यवसायी प्रालीमा आवद्ध व्यवसायीहरु र यसमा आवद्ध बसमा नेपाल भर यात्रा गर्ने यात्रुहरुले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् ।
यात्रुहरुले पश्चिम नेपाल बस व्यवसायीमा आवद्ध बसहरुमा यात्रा गरेको ३ महिना भित्र टिकट देखाइ २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन् । सम्झौता पत्रमा लुम्बिनी केबलकार लिमिटेडको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका गोल पार्क केबलकार चोकमा बटम स्टेसन रहेको लुम्बिनी केबलकारको पाल्पाको वसन्तपुरमा टप स्टेसन रहेको छ । केबलकारको टप स्टेसनमा नेपालको १ मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर रहेको छ ।